Like us!
Follow us!
Connect us!
Watch us!

कालीगण्डकीमा पहिलोपटक ६६.३ मेगावाटको जलविद्युत् आयोजना,आईएमई ग्रुपको नेतृत्वमा निर्माण सुरु

अर्थ संसार

सोमबार, १९ साउन २०८२, १२ : ५० मा प्रकाशित

कालीगण्डकीमा पहिलोपटक ६६.३ मेगावाटको जलविद्युत् आयोजना,आईएमई ग्रुपको नेतृत्वमा निर्माण सुरु

आईएमई ग्रुपको नेतृत्वमा कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा हाइड्रो सपोर्ट कम्पनीले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।

सिभिल निर्माणको जिम्मा लिएको रसुवा–मल्टि जेभीले अन्नपूर्ण गाउँपालिका–२ स्थित नागढङ्गाबाट ४ हजार ३१९ मिटर लामो सुरुङ निर्माण कार्य विस्फोटक पदार्थ प्रयोग गरी सुरु गरिसकेको छ।

हाइड्रो सपोर्ट कम्पनीका सञ्चालक चन्द्र ढकालका अनुसार अडिटको दुरी ४५९ मिटर छ भने बाँधतर्फको सुरुङ साउन महिनाभित्र र आउटलेटतर्फको खन्ने काम हिउँददेखि सुरु गरिनेछ। अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध निर्माण गरी संकलित पानीलाई १५१ मिटर तल अन्नपूर्ण–२ स्थित नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत् गृहमा पठाइनेछ। विद्युत् गृह, स्विचयार्ड र कन्ट्रोल रुम सबै संरचना भूमिगत रहनेछन्।

रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी फणिन्द्रराज पाण्डेका अनुसार सुरुङ निर्माणमा अत्याधुनिक बुमर रोबोटिक सटकिटलगायत प्रविधिको प्रयोग गरिएको छ। उत्पादन हुने विद्युत् नौनीबगरदेखि झन्डै ७ किलोमिटर माथि रहेको २२० केभी क्षमताको दाना सवस्टेशन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। सञ्चालक ढकालका अनुसार आयोजनालाई आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कुल लागत अनुमानित १२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ, जसमा नबिल बैंकको नेतृत्वमा ६ वाणिज्य बैंकको सहभागिताबाट ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत प्रवर्द्धक तथा सेयर लगानीकर्ताबाट जुटाइनेछ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौताअनुसार हिउँदमा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दरमा विद्युत बिक्री गरिनेछ। अनुमानित उत्पादनअनुसार हिउँदमा १३० गिगावाट विद्युत बिक्रीबाट १ अर्ब ९ करोड रुपैयाँ र वर्षायाममा २७७ गिगावाट विद्युत बिक्रीबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। मध्य कालीगण्डकी आयोजना बाहेक, कालीगण्डकी नदी बेसिनमा हालसम्म ३ सय मेगावाटभन्दा बढी क्षमताका थप तीन जलविद्युत् आयोजना निर्माणका लागि अनुमति दिइसकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको