ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको दुर्गम गाउँ–बस्तीमा अझै सरकार स्वयंले उज्यालो पुर्याउन नसकेको ठाउँमा सौर्य विद्युत उत्पादक संघले महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गरेका छन् । नेपाल सौर्य विद्युत उत्पादक संघ नेपालको रजत जयन्ती समारोहमा बोल्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।
‘सौर्य विद्युत उत्पादनमार्फत सरकारले हरेक नागरिकको घरमा उज्यालो दिन नसकेको ठाउँमा संघले महत्वपूर्ण भूमिका खेलेको छ, सिंचाई गर्न नसकेको ठाउँमा सौर्य प्रणालीमार्फत सिंचित गरेर संघले योगदान दिएकोमा म आभार प्रकट गर्न चाहन्छु,’ उनले भने, ‘विद्युतको आवश्यकता बढ्दो छ, आपूर्तिको माग पनि उच्च छ तर त्यसको सम्बोधन हुन नसकेको गुनासो छ । अब तीव्र गतिमा काम गर्ने बेला आएको छ । सरकारले लिएको १० वर्षे दीगो ऊर्जा लक्ष्यमा संघको निरन्तर सहयोग र सहकार्य अपरिहार्य छ ।’
दिगो ऊर्जा विकासका लागि निजी क्षेत्रको लगानी र साझेदारीलाई अझ प्रभावकारी बनाउन सरकार नीतिगत सहजीकरण गरिरहेको मन्त्री खड्काले बताए । स्वच्छ र भरपर्दो ऊर्जाको विकल्पका रूपमा सौर्य ऊर्जा रणनीतिक रूपमा महत्वपूर्ण भइसकेको उल्लेख गर्दै उनले भने, ‘हामी जलविद्युतमा जति अगाडि बढ्दैछौं, सौर्य ऊर्जा पनि त्यत्तिकै महत्वको विषय हो । जलवायु परिवर्तनको चुनौतीलाई मध्यनजर गर्दै अबको ऊर्जा योजना बहुआयामिक र नविकरणीय स्रोतमै केन्द्रित हुनुपर्ने आवश्यकता छ ।’
कार्यक्रममा मन्त्री खड्काले सरकारले सौर्य ऊर्जा क्षेत्रका लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सौर्य विद्युत खरिद दर पुनरावलोकन, प्रसारण लाइनको पहुँच विस्तार र बैंकिङको व्यवस्था जस्ता विषयलाई प्राथमिकतामा राखेको जानकारी दिए । उनले स्पष्ट गरे, ‘हामीले स्वच्छ ऊर्जा उत्पादन गरिरहेका छौं, कार्बन उत्सर्जन गरिरहेका देशहरूसँग क्षतिपूर्तिका लागि कूटनीतिक तथा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक पहल गर्न सरकार तयार छ ।’
संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले सौर्य ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान र सरकारसँगको सहकार्यको आवश्यकता रहेको बताए । ‘संघले विगत २५ वर्षमा नीति संवाद, प्रविधि हस्तान्तरण र परियोजना विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। अब सहकार्य, स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक छ,’ उनले भने । कार्यक्रममा ऊर्जा मन्त्रालयका ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, संघका वरिष्ठ उपाध्यक्ष, सदस्यहरू, विभिन्न सौर्य कम्पनीका प्रतिनिधि, विद्युत प्राधिकरणका पदाधिकारी, विज्ञहरू उपस्थिति रहेको थियो ।
रजत जयन्ती समारोहमा ऊर्जामन्त्री खड्काले संघद्वारा प्रकाशित ‘उज्यालो यात्रा’ नामक स्मारिका विमोचन गर्नुका साथै संघका संस्थापक पदाधिकारीहरूलाई सम्मान गरिएको थियो । सौर्य ऊर्जा प्रवद्र्धनमा योगदान पुर्याएका कम्पनीहरूलाई कदरपत्र प्रदान गरिएको कार्यक्रममा सौर्य ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना र चुनौतीका विषयमा पनि व्यापक छलफल गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस