कास्कीको पोखरामा अवैध सुन कारोबारमा संलग्न ११ जना भारतीय नागरिक ६ किलो ४ सय ग्राम सुनसहित पक्राउ परेका छन्।
भारतको महाराष्ट्र र पश्चिम बंगालका स्थायी बासिन्दा रहेका उनीहरू पोखराका विभिन्न क्षेत्रहरूमा बसोबास गर्दै आएका थिए। प्रहरीले शुक्रबार पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूको साथबाट ५ लाख १४ हजार रुपैयाँ नगद र ४४४ तोला चाँदी समेत बरामद गरिएको छ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको गोप्य सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको थियो। त्यही क्रममा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्ज्वल भोमिक, ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दीपक सामन्त, ४७ वर्षीय गोविन्दा दिण्डा र ४९ वर्षीय प्रोभास माझी पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट बरामद गरिएको सुनको बजार मूल्य करिब ११ करोड १ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। बरामद सुन, चाँदी र नगदसहित घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस