Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा प्रशोधित पानीको जारमा कडा अनुगमन, मापदण्ड विपरीतका २७१ जार नष्ट

अर्थ संसार

सोमबार, २६ साउन २०८२, १५ : ३९ मा प्रकाशित

काठमाडौंमा प्रशोधित पानीको जारमा कडा अनुगमन, मापदण्ड विपरीतका २७१ जार नष्ट

काठमाडौं महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्र बनाएको छ।

पछिल्लो एक हप्ताको अवधिमा महानगरले विभिन्न स्थानमा अनुगमन गरी मापदण्ड विपरीतका २७१ वटा जारहरू बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिएको छ। साथै, असार र साउन महिनामा १३९ वटा सवारी साधनबाट ४५६ वटा जार जफत गरिएका छन्।

पानीको गुणस्तर सुनिश्चित गर्नका लागि केही नमुना जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेका अनुसार चालु आर्थिक वर्षदेखि बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका क्षेत्रमा अनुगमन गरिएको छ। विभाग र महानगर प्रहरी बलको सहकार्यमा खानेपानी बोक्ने गाडीहरूको चेकपोस्टमार्फत अनुगमन गरिएको हो।

साउन २० गते बल्खुमा गरिएको अनुगमनमा आठ वटा कम्पनीका गाडीहरूको जाँच गर्दा ५९ वटा जार मापदण्डविपरीत (कुच्चिएको, फुटेको वा अपारदर्शी) अवस्थामा भेटिए। यस्तै, साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ सवारी साधन अनुगमन गर्दा ६७ वटा जारहरू बरामद गरिए। यी सबै जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई हस्तान्तरण गरिएको छ। त्यसैगरी, साउन २३ गते माछापोखरी–बालाजु क्षेत्रमा २० वटा गाडी जाँच गर्दा ६८ वटा मापदण्डविपरीतका जार फेला परेका छन् भने साउन १८ गते कोटेश्वरमा १५ वटा सवारी साधन अनुगमन गर्दा ७७ वटा जारहरू बरामद गरिएको हो। यी सबै जारहरू पनि नष्ट गर्न प्रहरी बललाई जिम्मा दिइएको छ। अनुगमनका क्रममा पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारहरू प्रयोग नगर्न, जारमा स्पष्ट लेबल राख्न, बिल–बिजक गाडीमै राख्न र पानीको गुणस्तरप्रति संवेदनशील हुन निर्देशन दिइएको छ। विभाग प्रमुख न्यौपानेका अनुसार, यस्ता अनुगमन कार्यहरूलाई नियमित रूपमा निरन्तरता दिइनेछ।

फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पनि प्रशोधित पानीको भौतिक र जैविक गुणस्तर परीक्षणको महत्त्वलाई जोड दिँदै प्रयोगशालामा पठाइएका नमुनाबाट पानीको शुद्धता सुनिश्चित गरिने बताएका छन्। उनले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनको तयारी भइरहेको जानकारी दिएका छन्। विशेषगरी बल्खु, कालीमाटी र टङ्केश्वरजस्ता क्षेत्रहरूमा विगतमा हैजा रोग देखिएकाले यस्ता जोखिम न्यून पार्न काठमाडौं महानगरपालिका सचेत भएको छ। साथै, महानगरले वर्षा याममा जारको पानी उमालेर मात्र पिउन सर्वसाधारणलाई आग्रह पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको