‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरका मेयर बालेन साहलाई सुकुमवासीका लागि उचित आवास निर्माण गर्न आग्रह गरेका छन्।
आज काठमाडौंको सुकुमवासी बस्तीमा पुगेका प्रसाईंले त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै सुकुमवासी बस्ती हटाउने मेयर बालेनको योजनाको विरोध गरे।उनले भने, ‘यो सुकुमवासी ०५८ सालदेखि यो समस्या हो भने तपाईंलाई घिनलाग्दो सिटी लाग्छ भने तपाईंसँग बजेट छ, राम्रो घर बनाइदिनुस् न, सरकारी जग्गा रहेछ त्यहाँ।’
उनले काठमाडौंलाई सुन्दर बनाउने नाममा गरिब र सुकुमवासीलाई विस्थापित गर्ने काम नगर्न आग्रह गरे।
प्रसाईंले बालेनलाई भने, ‘तपाईं एसी रुममा बस्नुहुन्छ, तपाईंको घर छ, तपाईं जमिन्दारको छोरो, इन्जिनियर पढ्नु भो, एसीमा बसेर दारु खानुहुन्छ तपाईं, अनि स्टाटस लेख्नुहन्छ, अनि फेरि डिलिट गर्नुहुन्छ। त्यो गर्दागर्दै अहिले तपाईं केही गर्न नसकेर तपाईंको जम्मा भत्काउने काम मात्रै भो। र, गरिबलाई लेखेट्ने काम मात्रै भो।’ प्रसाईंले थप भने, ‘एउटा गरिबको छोरो, एउटी गरिबकी छोरी, गरिबको के हुन्छ, घर पनि हुँदैन, जग्गा पनि हुँदैन, कि खोलाको डिलमा बस्नुपर्यो कि सडकको फुटपाथमा बस्नुपर्यो। यसो सागको मुठो बेच्छु, यसो फर्सीको मुन्टो बेच्छु, मकै पोलेर बेचेर आफ्नो पेट पाल्छु भन्दाखेरि तपाईं, तपाईं लगायतको टिमले शहरलाई राम्रो बनाउने नाममा लात हानेर खेद्नुभयो। शहर खै के सुन्दर छ, जस्ताको तस्तै छ।’
प्रसाईंले बालेनको कामकाजका कारण काठमाडौंमा व्यापार–व्यवसाय ठप्प भएको र धेरै सटरहरू बन्द हुन थालेका छन्। साथै,सुकुमवासीहरूलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरी उनीहरूको वास्तविक समस्या समाधान नगरेको भन्दै उनले राजनीतिक दलहरूको पनि आलोचना गरे।
उनले सुकुमवासी बस्ती हटाउन आउनेहरूसँग प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस