पछिल्लो समय अर्थतन्त्र संकुचनको अवस्थामा रहँदा हरेक क्षेत्रमा यसको प्रभाव परेको छ । अर्थतन्त्र लयमा नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा पनि त्यसको प्रभाव परेको छ । पछिल्लो समय अधिक तरलताको सामना गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले यो सँगै गैर–बैंकिङ सम्पत्ति (एनपीए) को पनि दबाब झेलिरहेका छन् ।
आर्थिक सिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न समस्या हुँदा धितोका रुपमा राखिएको सम्पत्ति बैंक तथा वित्तीय संस्थाहरुले आफैले सकार्नु पर्नु अवस्था आएको छ । धितो लिलामका लागि सूचना जारी गर्दा पनि बिक्री हुन नसक्दा उक्त सम्पत्ति बैंकहरुले आफैले राख्नु पर्ने बाध्ता अहिले छ । धितो बिक्री नुहँदा सिङ्गो बैंकिङ क्षेत्र दबाबमा परेको छ । ऋणली समयमा कर्जा तिर्न नसक्दा बैंक तथा फाइनान्स कम्पनीहरुले पटक–पटक सार्वजनिक सूचना जारी गरेर धितो बिक्री गर्न खोज्दा पनि अहिले बिक्री नहुने समस्या रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल गैर–बैंकिङ सम्पत्ति आधा खर्ब भन्दा बढी पुगेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा यस्तो गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड १० लाख रुपैयाँ पुगेको हो ।
राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा पछिल्लो अवधिमा कायम रहेको कुल गैर–बैंकिङ सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा १५ अर्ब ४ करोड २० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्मा कुल गैर–बैंकिङ सम्पत्ति पनि ३५ अर्ब ५० करोड ९० लाख रुपैयाँ रहेको थियो । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्तिमसम्ममा औसत निष्क्रिय कर्जाको अनुपात पनि बढेर ४.६२ प्रतिशत पुगेको छ । जसले गर्दा बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढेसँगै गैर–बैंकिङ सम्पत्ति पनि उच्चरुपमा वृद्धि भएको देखिन्छ । अघिल्लो आवको सोही अवधिमा बैंकिङ क्षेत्रको औसत निष्क्रिय कर्जा ३.८६ प्रतिशत रहेको थियो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा औसत ०.७६ प्रतिशतले निष्क्रिय कर्जा बढ्दा गैर–बैंकिङ सम्पत्ति १५ अर्ब ४ करोड २० लाख रुपैयाँले बढेको छ ।
गत आवको पछिल्लो १२ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुमा मात्र औसतमा ४.४४ प्रतिशत कर्जा निष्क्रिय हुँदा ४२ अर्ब ७७ करोड ३० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति अघिल्लो आवकोे तुलनामा १२ अर्ब ५९ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुमा औसत ३.७६ प्रतिशत कर्जा निष्क्रिय हुँदा ३० अर्ब १७ करोड ६० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा भने गत आवको पछिल्लो १२ महिनाको अवधिमा औसतमा ५.०३ प्रतिशत कर्जा निष्क्रिय हुँदा ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा विकास बैंकहरुमा औसतमा ३.६२ प्रतिशत कर्जा निष्क्रिय हुँदा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवको पछिल्लो १२ महिनामा सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुमा भने औषतमा ११.०५ प्रतिशत कर्जा निष्क्रिय देखिँदा ३ अर्ब ९ करोड १० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । यो सम्पत्ति अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब १२ करोड ७० लाख रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा फाइनान्स कम्पनीहरुमा औसतमा ९.८७ प्रतिशत कर्जा निष्क्रिय हुँदा १ अर्ब ९६ करोड ४० लाख रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस