Like us!
Follow us!
Connect us!
Watch us!

गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंकहरू - पाँच वर्षमा दश गुणा बढ्यो गैरबैंकिङ सम्पत्ति, कुनको कति ?

अर्थ संसार

मंगलबार, १७ भदौ २०८२, १७ : २५ मा प्रकाशित

गैरबैंकिङ सम्पत्तिले थिचिँदै बैंकहरू - पाँच वर्षमा दश गुणा बढ्यो गैरबैंकिङ सम्पत्ति, कुनको कति ?

पछिल्ला तीन वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्तिमा उल्लेख्य वृद्धि भएको देखिएको छ। २०७९ असारमा १० अर्ब ५२ करोड रुपैयाँ रहेको यो सम्पत्ति २०८२ असारसम्म आइपुग्दा बढेर ५० अर्ब ५५ करोड रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा गैरबैंकिङ सम्पत्ति ८ अर्ब रुपैयाँले बढ्दै १८ अर्ब ६८ करोड पुगेको थियो। त्यसपछिको एक वर्षमा थप तीव्र वृद्धि हुँदै २०८१ असारमा ३५ अर्ब ५० करोडमा पुगेको यो सम्पत्ति २०८२ असारमा फेरि बढेर ५० अर्ब ५५ करोड रुपैयाँ पुगेको हो।

गएको आर्थिक वर्षको जेठ महिनामा मात्र ४५ अर्ब ७० करोड रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्ति एक महिनाभित्रै करिब ५ अर्ब रुपैयाँले बढेर असारसम्ममा अहिलेको अवस्थामा पुगेको हो। कोरोना महामारी सुरु हुनुअघि देशभरिका बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ मात्र थियो। पाँच वर्षको अवधिमा यसले १० गुणा वृद्धि गर्दै ५० अर्ब ५५ करोड १० लाख पुगेको हो।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ, जुन ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। त्यसपछि क्रमशः हिमालयन बैंकको ५ अर्ब ६६ करोड, एनआईसी एसिया बैंकको ४ अर्ब ६३ करोड, प्राइम बैंकको ३ अर्ब ९४ करोड, नबिल बैंकको ३ अर्ब ६७ करोड, र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ अर्ब ६८ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिन्छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने गैरबैंकिङ सम्पत्ति शून्य रहेको छ।

विकास बैंकहरूमा ज्योति विकास बैंकको एक अर्ब ३ करोड रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन यस क्षेत्रमा सबैभन्दा बढी हो। गरिमा विकास बैंकको ६७ करोड ५० लाख, महालक्ष्मी विकास बैंकको ५६ करोड ९० लाख, र सांग्रिला डेभलपमेन्ट बैंकको ५२ करोड ८० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति देखिएको छ।

फाइनान्स कम्पनीहरूमध्ये गोरखा फाइनान्स अग्रस्थानमा रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ४३ करोड ४० लाख रुपैयाँ छ। त्यसपछि गुडविल फाइनान्सको ५४ करोड ६० लाख र नेपाल फाइनान्सको १७ करोड ९० लाख रुपैयाँ बराबरको सम्पत्ति देखिन्छ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको