नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा पुँजी बजारको भविष्य उज्ज्वल देखाउने गरी देशका सर्वोच्च पदस्थ व्यक्तिहरूबाट केही गम्भीर वाचाहरू व्यक्त गरिएका थिए । ती वाचाहरूले लाखौं लगानीकर्ताको मनमा आशाको दियो बालेका थिए । आउनुहोस्, एकपटक ती शब्दहरूलाई जस्ताको त्यस्तै सम्झौं त :
‘समग्र लगानीकर्ताको हक हित संरक्षण र बजार को विश्वसनीयता र प्रभावकारिता का लागि उल्लेखनीय भुमिका निर्वाह गर्ने छ भन्ने अपेक्षा छ ।’ –प्रधानमन्त्री के. पी. शर्मा ओली ।
‘बोर्डले लगानीकर्ताको सुरक्षा र सुरक्षित कारोबारका लागि धितोपत्र बजारलाई आधुनिक एबम प्रविधि मैत्री बनाई कारोबार लागत घटाउने, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने, संस्थागत क्षमता अभिवृद्धि र नियामाकिय सक्षमता विकास गर्ने दिशा मा परिणाम मुखी सकृयता लिने छ ।’ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल ।
‘लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने कार्यलाई थप महत्व का साथ कार्यान्वनय गरिने छ’ – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ ।
सरकारको नेतृत्व गरेका देशका प्रधानमन्त्री, देशको आर्थिक क्षेत्रका साँचो लिरहे बसेका अर्थमन्त्री र पुँजी बजारको नियमन गर्ने र त्यसको विकास र विस्ताको जिम्मेवारी लिएका व्यक्तिहरुले एकै पटक सेयर बजारका विषयमा यस्तो कुरा गर्दा सबै लगानीकर्तामा निकै उत्साह थपिएको थियो । उहाँहरुले यी शब्दहरू सुन्दा लाग्थ्यो, अब नेपाली पुँजी बजारले साँच्चिकै काँचुली फेर्नेछ । तर, ती उच्चस्तरीय प्रतिबद्धताहरू र आजको बजारको यथार्थबीचको खाडल हेर्दा लगानीकर्तामा आक्रोश र निराशाबाहेक केही देखिदैन् । कतै पनि आशा देखिएको अवस्था छैन् । ती वाचाहरू केवल भाषणमा सीमित भए र बजार दिनप्रतिदिन कमजोर र अस्तव्यस्त बन्दै गयो ।
वाचाहरूको चिरफार : वाचा र वास्तविकताको तितो सत्य
बोर्ड अध्यक्षले सबैभन्दा बढी महत्व दिने भन्नुभएको थियो ‘लगानीकर्ता शिक्षा’ आज कहाँ छ ? कहाँ कहाँ गरिएका छन् लगानीकर्ता शिक्षा कार्यक्रम ? आम लगानीकर्तासम्म पुग्ने प्रभावकारी अभियान कहाँ चल्यो ? आधारभूत तालिमसम्म पनि नगर्ने अनि त्यो भन्दा माथि गएर जोखिम विश्लेषण र बजारको गहिराइबारे सिकाउने काम खै ? जसको परिणाम आज पनि बहुसंख्यक लगानीकर्ता हल्लाको पछि दौडिरहेका छन् । आम लगानीकर्तालाई बोर्डका अध्यक्षले भनेजस्तो गरि तालिम दिन सकेको भए उनीहरु बजारका विषयमा जानकार हुन्थ्ये र पुँजी बजारबाट लाभ लिन सक्ने थिए ।
प्रधानमन्त्रीले अपेक्षा गर्नुभएको ‘बजारको विश्वसनीयता र प्रभावकारिता’ आज प्रश्नको घेरामा छ । नीतिगत अस्थिरता र नियामक निकायको कमजोरीले बजारप्रतिको विश्वास नै धर्मराइरहेको छ । अर्थमन्त्रीले देख्नुभएको ‘आधुनिक एवं प्रविधिमैत्री बजार’ को सपना समेत पनि अहिले अधुरै छ, खै कहाँ पुग्यो प्रगति ? वर्षौं बित्दा पनि हाम्रो अनलाइन कारोबार प्रणाली (टिएमसए) सामान्य समस्याबाट मुक्त हुन सकेको छैन । विश्व बजारमा सामान्य मानिने डेरिभेटिभ्स जस्ता आधुनिक उपकरणहरू हाम्रो लागि सपना जस्तै भएका छन् । यस्तो अवस्थामा अर्थमन्त्रीको प्रविधिमैत्री बजार कहाँ छ ? ‘संस्थागत क्षमता अभिवृद्धि’ को वाचा त झनै कमजोर देखियो । स्टक एक्सचेन्जको अत्यधुनिकरण, नयाँ ब्रोकर र वस्तु विनिमय बजारको प्रवेश नीतिगत र राजनीतिक अलमलमा यति नराम्रोसँग फसेको छ कि बजारमा स्वस्थ प्रतिस्पर्धाको वातावरण नै बन्न सकेन ।
बजार किन डुब्यो ? विश्वासको संकट नै प्रमुख कारण
बजार कमजोर हुनुमा नीतिगत अस्थिरता र नियामक निकायको उदासीनता प्रमुख कारक हुन् । तर, सबैभन्दा आश्चर्यको कुरा त यो छ कि बजारमा लगानीयोग्य रकम (तरलता) सहज हुँदा र ब्याजदर कम हुँदा पनि लगानीकर्ताहरू बजारप्रति विश्वस्त हुन सकेनन । किन?
यसले के देखाउँछ भने, समस्या पैसाको अभाव वा ब्याजदर मात्र होइन; मुख्य समस्या ‘विश्वासको संकट’ हो । जब लगानीकर्तालाई माथि उद्धृत गरिएका वाचाहरू केवल देखाउनका लागि मात्रै थिए भन्ने लाग्न थाल्छ र नियामक निकायले बजारको हित हेर्छ भन्ने विश्वास नै टुट्छ । तब लगानीकर्ताहरुले लगानी गर्ने आँट गर्दैनन् । यो संकट पैदा हुनुमा धितोपत्र बोर्डको निरीहता, अर्थ मन्त्रालयको दिशाहीनता र सरकारको समग्र उदासीनता जिम्मेवार छ ।
अबको बाटोः लगानीकर्ता शिक्षा नै अन्तिम अस्त्र
जब नियमकिय निकाय हरु बाट गरिएका वाचाहरू नै पूरा हुँदैनन्, तब लगानीकर्ता आफैँ सचेत हुनुको विकल्प रहँदैन । नेपाली पुँजी बजारका लगानीकर्ताका लागि यो भनाइ आज सान्दर्भिक भएको छ । नियामक निकाय र सरकारलाई पर्खेर बस्दा हामीले आफ्नो लगानी र बजारको भविष्य दुवै गुमाउनेछौं । त्यसैले, अबको एक मात्र बाटो हो– लगानीकर्ता शिक्षा र सशक्तीकरण । हामीले बुझ्नुपर्छ, बजारमा हाम्रो सबैभन्दा ठूलो हतियार भनेको सही सूचना र ज्ञान हो । हल्ला र टिप्सको भरमा सेयर किन्ने प्रवृत्तिलाई आजैदेखि त्यागौं ।
आवाहनः
आफैँ सिक्नुहोस् : कम्पनीको वित्तीय विवरण (Fundamental Analysis) कसरी पढ्ने, सेयरको मूल्य विश्लेषण (Technical Analysis) कसरी गर्ने, र बजारको मनोविज्ञान कसरी बुझ्ने भन्ने कुरा सिक्नमा समय र स्रोत लगानी गरौं ।
समूहमा सिक्नुहोस् : सामाजिक सञ्जालमा मूल्य बढाउने र घटाउने खेल खेल्नुको सट्टा, ज्ञान आदानप्रदान गर्ने र सिक्ने समूहहरू निर्माण गरौं। एकअर्कालाई सचेत गराऔं, ज्ञान बाँडौं।
प्रश्न गर्नुहोस् : कुनै हल्लाको पछि लाग्नुभन्दा पहिले, त्यो सूचनाको स्रोत के हो भनेर प्रश्न गर्ने बानी बसालौं। सही सूचना को खोजि गर्नु होस्।कम्पनीको व्यवस्थापन, भविष्यको योजना र वित्तीय स्वास्थ्यबारे जानकारी राखेर मात्र लगानीको निर्णय लिऔं।
जब लगानीकर्ता आफैं शिक्षित, सचेत र बलियो हुन्छ, तब उसलाई कसैले सजिलै ठग्न सक्दैन। एउटा शिक्षित लगानीकर्ताले बजारमा हुने चलखेललाई निरुत्साहित गर्छ। जब लाखौं लगानीकर्ता शिक्षित हुन्छन्, तब उनीहरूले नियामक निकायलाई पनि ती पुराना वाचाहरू पूरा गर्न र सही काम गर्न बाध्य बनाउँछन् ।
अन्त्यमा, लगानीकर्ता संघ हरु ले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सी डी एस सी जस्ता संस्था हरु संघ गम्भीर वार्ता हरु गरी लगानीकर्ता शिक्षा मा व्यापक काम गर्नु पर्ने जिम्मेवारीलाई कार्यान्वन गर्नु ढिला भै सकेको छ । अब आश्वासनमा अल्झिनुको सट्टा, आफ्नो लगानीको रक्षाका लागि लगानीकर्ता हरु आफै सचेत हुन् जरुरी छ । एक शिक्षित र जागरुक लगानीकर्ता नै बलियो पुँजी बजारको जग हो ।
जय पुँजी बजार ! जय लगानीकर्ता। (निजी विचार) लेखक रबिन कँडेल नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव हुन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस