नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सोमबार साँझ खुमलटारमा आकस्मिक बैठक बसेर हाल देशभरि फैलिएको ‘जेन-जी’ आन्दोलन र सरकारी दमनप्रति गम्भीर आपत्ति जनाएको छ।
बैठकपछि जारी विज्ञप्तिमा पार्टीले भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमविरुद्ध युवा पुस्ताले उठाएको आवाजसँग आफूहरू एकमत रहेको स्पष्ट पारेको छ। तर, आन्दोलनलाई शान्तिपूर्ण र संयमित ढंगले अघि बढाउन आग्रह गरिएको छ।
माओवादी केन्द्रले हालैको घटनालाई “इतिहासकै कलङ्क” भन्दै यसका लागि सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने माग गरेको छ। प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने जोड दिँदै पार्टीले मृतकलाई सहिद घोषणा गर्नुपर्ने र भदौ २४ गते साँझ ५ बजे देशभरका स्थानीय तहमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ।
यसबाहेक, बर्बर दमनमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै पार्टीले स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिन आयोग गठन गरी दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग राखेको छ।
युवा पुस्तासँग साझा अवधारणा रहेको भन्दै माओवादी केन्द्रले आगामी दिनमा ‘जेन-जी’ नेतृत्वसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने संकेत गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस