भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा बैंक तथा वित्तीय संस्थाहरू मुख्य निशानामा परेका छन्। भदौ २३ गतेको प्रदर्शनका क्रममा देशभर विभिन्न बैंक तथा वित्तीय संस्थामा तोडफोड, आगजनी तथा अन्य भौतिक क्षति पुगेको छ।
कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी अशोक श्रेष्ठ घाइते भएका छन्। कार्यालयमा काम गरिरहेका श्रेष्ठलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। उनलाई तुरुन्तै अन्नपूर्ण अस्पताल लगिएको र परिवारको उपस्थितिमा सफल शल्यक्रिया गरेर गोली निकालिएको छ। बैंकका शाखा तथा एटीएमहरूमा तोडफोड भएको विवरणहरू देशभरबाट आएका छन्। कीर्तिपुर शाखाको एटीएम मेसिनमा तोडफोड भएको छ भने लहानमा खाद्य संस्थानको डिपो जलाउने प्रयास गर्दा नजिकैको बैंक शाखामा पनि क्षति पुगेको छ। धनगढीमा बैंकको गाडीमा क्षति पुगेको छ।
एनआईसी एशिया बैंकमा व्यापक क्षति पुगेको छ। बैंकका अनुसार, १४ वटा एटीएम मेसिन, ५ शाखा कार्यालय र ६ काउन्टरमा क्षति पुगेको छ। कुमारी बैंकको दुलेगौंडा शाखामा ढुंगामुढा हुँदा सिसा फुटेको छ। हेटौंडाको भाटभटेनी परिसरमा रहेको एटीएम मेसिनमा समेत क्षति पुगेको छ। हिमालयन बैंकको बत्तीसपुतली शाखा पूर्ण रूपमा जलेर खरानी भएको छ। बैंकका अनुसार, लकर र भल्ट भने सुरक्षित रहेका छन्। अन्य शाखाहरू जस्तै न्युरोड, भैरहवा एयरपोर्ट, कमलादी आईटी प्लाजा, विराटनगर, र बुटवलस्थित एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ, तर नगद भने सुरक्षित रहेको छ।
ग्लोबल आइएमई बैंकको कान्तिपुर भवनस्थित दुई विभागमा आगजनीबाट क्षति पुगेको छ। सेन्ट्रल ट्रेड र इन्टरनल अडिट विभागमा आगो लगाइएको छ। साथै, आन्तरिक राजस्व, यातायात व्यवस्था तथा मालपोत कार्यालयहरूमा रहेका बैंकका राजस्व काउन्टरहरूमा पनि क्षति पुगेको छ। राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू पनि क्षतिग्रस्त भएका छन्। बानेश्वर, दुहबी र भैरहवा शाखा तथा केही एटीएम मेसिनहरूमा तोडफोड भएको छ। नेपाल बैंकका विभिन्न शाखामा पनि क्षति पुगेको छ। बैंकका काँकडभिट्टा, गौरादह, ताप्लेजुङमा रहेका ३ काउन्टर र १ एटीएम मेसिनमा क्षति पुगेको छ।
माछापुच्छ्रे बैंकका एटीएमहरू पनि आन्दोलनको क्रममा तोडफोडमा परेका छन्। भरतपुर मालपोत, सिंहदरबार परिसर र अख्तियार दुरुपयोग अनुसन्धान आयोग परिसरमा रहेका ३ वटा एटीएममा क्षति पुगेको छ। सिटिजन्स बैंक र प्रभु बैंक पनि प्रभावित भएका छन्। सिटिजन्स बैंकको नक्सालस्थित भाटभटेनी परिसरको एटीएम मेसिन र प्रभु बैंकको लैनचौर शाखामा तोडफोड भएको छ।
यस्तै,नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आक्रमण गरेका छन्। भैँसेपाटीस्थित घरमा आगजनी गरिएको छ भने चितवनको पुरानो घरमा समेत तोडफोड भएको छ।
यद्यपी विवरणहरुबारे यकीन तथ्यांक भने अझै आउन बाँकी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस