विश्वको अग्रणी डिजिटल मुद्रा बिटकोइनले आइतबार नयाँ इतिहास रच्दै पहिलोपटक एक लाख पच्चीस हजार पाँच सय उनन्साठ्ठी अमेरिकी डलर नाघेको छ । यो स्तर सन् २०२५ को अगस्ट महिनामा बनेको अघिल्लो रेकर्ड एक लाख चौबीस हजार पाँच सय डलरभन्दा माथि हो ।
बजार विश्लेषकहरूका अनुसार बिटकोइन आइतबारको बजार सत्रमा झन्डै दुई प्रतिशतले बढ्दै नयाँ उच्च विन्दुमा पुगेको हो । यससँगै बिटकोइनले साप्ताहिक रूपमा करिब तेह्र दशमलव आठ सात प्रतिशतको वृद्धि दर कायम गरेको छ ।
क्रिप्टो बजारसम्बन्धी वेबसाइटको तथ्याङ्कअनुसार पछिल्लो समय बिटकोइनमा भएको तीव्र वृद्धि अमेरिकाको सम्भावित ब्याजदर कटौती, बिटकोइन सम्बन्धी एक्सचेन्ज ट्रेडेड फन्डमा बढ्दो लगानी र संस्थागत अपनत्वका कारण भएको हो ।
कोइनडीसीएक्सका सह–संस्थापक सुमित गुप्ताले भने, “अमेरिकी शेयर बजारमा सुधार, बिटकोइनसँग सम्बन्धित लगानी फन्डमा बढ्दो भोल्युम र अमेरिकी सरकारको सम्भावित बन्दाबन्दीबारे चिन्ताले लगानीकर्तालाई सुरक्षित विकल्पतर्फ अर्थात् बिटकोइनतर्फ आकर्षित गरिरहेको छ । बिटकोइन अहिले डिजिटल सुनको रूपमा बलियो रूपमा स्थापित हुँदै गएको छ ।”
कोइनमार्केटक्यापले गरेको सर्वेक्षणअनुसार बिटकोइनले नयाँ रेकर्ड तोडे पनि लगानीकर्ताहरू अझै पनि उत्साही छन् । सर्वेक्षणमा ८२ प्रतिशत लगानीकर्ताले बिटकोइन अझ माथि जाने विश्वास व्यक्त गरेका छन् भने १८ प्रतिशतले सावधानी अपनाउने दृष्टिकोण राखेका छन् ।
फाल्कन एक्सका बजार प्रमुख जोशुआ लिमले भने, “जब सुन, शेयर बजार र दुर्लभ संग्रह्य वस्तुहरू सबै नयाँ उच्च स्तरमा पुगेका छन्, त्यसैले डलरको अवमूल्यनको कथामा बिटकोइनको उकाली स्वाभाविक हो ।”
अक्टोबर ५ गते आइतबार दिउँसो बिटकोइनको मूल्य एक लाख तेइस हजार छ सय बत्तीस डलरमा कारोबार भइरहेको थियो, जुन अघिल्लो दिनको तुलनामा करिब एक प्रतिशतले माथि हो । बिटकोइनको बजार पूँजीकरण दुई दशमलव छेचालीस ट्रिलियन डलर पुगेको छ । तर पछिल्लो चौबीस घण्टामा व्यापारिक भोल्युम झन्डै बाइस प्रतिशतले घटेर उनसाठी अर्ब डलरमा सीमित भएको छ ।
बिटकोइनको मूल्य सन् २०१० जुलाईमा जम्मा शून्य दशमलव शून्य चार आठ छ पाँच डलर थियो, जुन अहिलेको तुलनामा अकल्पनीय रूपमा बढेको हो ।
बिटकोइन र अन्य क्रिप्टो सम्पत्तिहरू अत्यधिक उतार–चढावयुक्त भएकाले यसमा लगानी गर्नु जोखिमपूर्ण हुन सक्छ । विश्लेषकहरूले लामो अवधिको सोच र जोखिम व्यवस्थापनबिना यस्ता सम्पत्तिमा अन्धाधुन्ध लगानी नगर्न सल्लाह दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस