Like us!
Follow us!
Connect us!
Watch us!

आज नेप्से के होला ? बिदा कटौतीपछि पनि अनिश्चितता, कर्मचारी आन्दोलन यथावत्

अर्थ संसार

सोमबार, २० असोज २०८२, ०८ : २३ मा प्रकाशित

आज नेप्से के होला ? बिदा कटौतीपछि पनि अनिश्चितता, कर्मचारी आन्दोलन यथावत्

सरकारको तर्फबाट सार्वजनिक बिदा कटौती भएपछि पनि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुल्ने नखुल्ने भन्ने विषयमा अनिश्चितता देखिएको छ।

असोज १३ गते फूलपातीदेखि बन्द रहेको सेयर बजार असोज १९ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो। तर देशभर आएको भीषण वर्षा र विपद्को अवस्थाका कारण गृह मन्त्रालयले थप दुई दिन सार्वजनिक बिदा दिएको थियो। त्यसपछि नेप्से पनि निरन्तर बन्द रह्यो।

अब भने मौसममा सुधार आएपछि गृह मन्त्रालयले असोज २० गतेदेखि विपद् नभएका स्थानका सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ। सो निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि आजको बिदा खारेज गरिसकेको छ।

तर, नेप्सेले भने बजार सञ्चालनबारे कुनै आधिकारिक सूचना अद्यावधिक गरेको छैन। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन। यसले लगानीकर्ताबीच अझै पनि बजार खुल्ने नखुल्ने विषयमा अन्योलता थपिएको छ।

यता, नेपाल स्टक एक्सचेन्जका कर्मचारीहरूले भने आफ्नो आन्दोलन यथावत् राखेका छन्। बोनसका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईलाई कार्यकक्ष प्रवेशमा निषेध गरेका छन्।

दशैं बिदाको अघिल्लो दिन सम्म पनि कर्मचारीहरूले नेप्से कार्यालय परिसरमा ‘प्रवेश निषेध अध्यक्ष हेमन्त बस्याल’, ‘प्रवेश निषेध सीईओ चुडामणी चापागाई’ लेखिएका ब्यानर टाँसेका छन्। उनीहरूले हातमा कालोपट्टी बाँधेर नियमित सेवा दिइरहेका छन्।

नेप्से कर्मचारी संघले केही दिनदेखि निरन्तर आन्दोलन गरिरहेको छ। उनीहरूको माग बोनस वितरण र व्यवस्थापन पक्षको पारदर्शितासँग सम्बन्धित रहेको बताइएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको