Like us!
Follow us!
Connect us!
Watch us!

बालेनदेखि ओलीसम्म कानुनी घेराबन्दी : जेनजी आन्दोलनले खोलेको नयाँ सत्ता–संघर्षको आयाम

अर्थ संसार

बुधबार, २२ असोज २०८२, ०८ : ४९ मा प्रकाशित

बालेनदेखि ओलीसम्म कानुनी घेराबन्दी : जेनजी आन्दोलनले खोलेको नयाँ सत्ता–संघर्षको आयाम

जेनजी आन्दोलनका घटनापछि राजनीतिक र सामाजिक ध्रुवीकरण खुलेर सतहमा आएको छ। अब आन्दोलनका पक्ष र विपक्षमा रहेका समूहहरू एकअर्कामाथि उजुरी र किटानी जाहेरी दर्ता गर्दै प्रत्यक्ष रूपमा भिड्न थालेका छन्।

एकातिर, नेकपा एमाले निकट अनेरास्ववियुले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थापक सुधन गुरुङविरुद्ध ‘राज्यविरुद्ध जासुसी’ र ‘उक्साहटमार्फत आपराधिक गतिविधि गराएको’ भन्दै उजुरी दर्ता गरेको छ। उनीहरूका अनुसार भदौ २४ गते सार्वजनिक सम्पत्तिमा भएको आगजनी र तोडफोड शाह र गुरुङकै निर्देशनमा भएको थियो।

उता, सुधन गुरुङसहितको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्दै उनीहरूलाई जेनजी आन्दोलनका घटनाको जिम्मेवार ठहर गरेको छ। उक्त जाहेरीलाई प्रहरीले जाँचबुझ आयोगमा पठाइसकेको छ, जहाँ आन्दोलनका सम्पूर्ण पृष्ठभूमि र घटनाक्रमबारे अनुसन्धान भइरहेको छ।

यी दुई उजुरीहरूले अब जेनजी आन्दोलनको दिशा मात्र होइन, राजनीतिक विमर्शलाई पनि नयाँ मोड दिएका छन्। एकातिर नयाँ पुस्ता प्रतिनिधित्व गर्ने समूहले पुराना राजनीतिक नेतृत्वमाथि ‘राज्यशक्तिको दुरुपयोग’ र ‘दमन’को आरोप लगाइरहेका छन् भने अर्कातर्फ परम्परागत दलसँग आवद्ध विद्यार्थी संगठनहरूले ती समूहहरूलाई ‘अराजकता र बाह्य प्रभाव’सँग जोड्दै कारबाही माग गरिरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, यी दुई धारबीचको टकराव केवल व्यक्तिगत वा संगठनगत विवाद होइन, यो पुरानो र नयाँ राजनीतिक सोचबीचको संघर्ष हो। एकातिर परिवर्तन र जवाफदेहिता खोज्ने युवा पुस्ता छन्, अर्कातिर राज्य संरचनाको स्थायित्व र नियन्त्रण चाहने परम्परागत शक्ति।

अब प्रश्न उठेको छ—जेनजी आन्दोलन केवल सडकमा भएको प्रदर्शन थियो कि नेपालको नयाँ पुस्ता र पुरानो राजनीतिक संरचनाबीच सुरु भएको गहिरो वैचारिक युद्धको सुरुवात ?

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको