Like us!
Follow us!
Connect us!
Watch us!

संसद् विघटन असंवैधानिक छ,गैरकानूनी छ - केपी शर्मा ओली

अर्थ संसार

विहीबार, २३ असोज २०८२, १४ : ३२ मा प्रकाशित

संसद् विघटन असंवैधानिक छ,गैरकानूनी छ -  केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले त्यसको पुनर्स्थापनाको माग गर्दै अघि बढ्नुपर्ने बताएका छन्।भक्तपुरको गुण्डुमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रको पुनर्बहालीका लागि प्रतिनिधि सभाको पुनर्स्थापना आवश्यक रहेको स्पष्ट पारे।

प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउने पनि उनले विश्वास गरे । सुशीला कार्कीले प्रधानमन्त्री हुन अडान लिएकाले प्रतिनिधि सभा विघटन भएको प्रशंग उल्लेख गरे । संसद् र संविधान जोगाएर विकल्प दिन सवै पक्षमा सहमति भएपनि असंवैधानिक विघटन गरिएको पनि उनले बताए ।

ओलीले भने, ‘समयमा कदम चाल्न सकिएन भने पछि ढिला भएछ भनेर पछुतो मान्नुपर्ने हुन्छ । कतिपय मानिसहरू भन्छन् फागुन २१ गते चुनाव भएन भने त्यसपछि संसद् पुनर्स्थापनाको माग गरौंला । संसद् विघटन असंवैधानिक छ, गलत छ, गैरकानूनी छ, अलोकतान्त्रिक छ । यो देश हितका विरुद्धमा छ, हामीलाई थाहा छैन र ? पर्खनुपर्‍यो फागुन २१ गते ? पर्खनु परेको छैन । हामी अगाडि बढ्ने बेला भएको छ । नेपाली जनता आन्दोलनको आँधी तुफान सिर्जना गरेर बढ्नेछ । असंवैधानिक ढंगले संसद् विघटन गरिएको छ । संसद् विघटन गर्ने अधिकार, संविधान मिच्ने अधिकार कसले प्राप्त गर्‍यो ? कहाँबाट प्राप्त गर्यो ? संविधान र संसद् कायम राखेर निकास खोजौं, त्यसमा त्यति बेलाको निर्णायक तत्वहरूको पनि सहमति थियो । मसँग कुरा हुँदा संविधान कायम राख्ने संसद् कायम राख्ने र संविधान र संसद्भित्रबाट निकास खोज्ने सबैको सहमति थियो । वार्ता सरकारले होइन, सरकारले राजीनामा गर्नुपर्ने ? वार्ता अर्कैले गर्नुपर्ने ? दुनियाँमा कहाँ हुन्छ ? राजनीतिक दलहरू वार्तामा नबस्ने ? ' 

प्रतिनिधि सभा पुनर्स्थापनाको एजेण्डामा कांग्रेसको पनि साथ रहने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको