शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि रु ११ करोड ६० लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले सो आर्थिक वर्षका लागि लेखापरीक्षण कार्य गर्न नयाँ लेखापरीक्षक नियुक्त गर्ने, लेखापरीक्षकको पारिश्रमिक तोक्ने, तथा सञ्चालक समितिले पेश गरेका अन्य सबै प्रस्तावहरू पनि एकमतले अनुमोदन गरेको कम्पनीले जनाएको छ।
शिवम् होल्डिङ्स लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ देखि निरन्तर चौथो पटक लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पुँजी रु ४ अर्ब ६४ करोड रहेको छ। यसले शेयरधनीहरूलाई नियमित आम्दानी दिलाउँदै आफ्नो व्यवसायिक विश्वसनीयता कायम राख्न सफल भएको बताइएको छ।
कम्पनीले हाल रु १ अर्ब १६ करोड बराबरका २० प्रतिशत शेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ। अहिले सो प्रस्ताव बोर्डको स्वीकृतिको प्रतीक्षामा रहेको जानकारी कम्पनीले दिएको छ।
शिवम् होल्डिङ्स लिमिटेड, नेपालकै अग्रणी सिमेन्ट निर्माता शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत स्वामित्व रहेको कम्पनी हो। बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी र व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ।
शिवम् सिमेन्ट्स लिमिटेडमा ३० प्रतिशत लगानी श्री शिवम् होल्डिङ्स लिमिटेडको र बाँकी ७० प्रतिशत लगानी चीनका लगानीकर्ताको रहेको छ। गण्डकी प्रदेश, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–सर्दीस्थित उद्योगले दैनिक ६,००० मेट्रिक टन क्लिनकर र सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ।
उद्योगमा प्रयोग भएको अत्याधुनिक प्रविधिबाट उत्पन्न वेस्ट हीटबाट १२ मेगावाट विद्युत् उत्पादन गरी आफ्नै उत्पादन प्रणालीमा प्रयोग गरिन्छ। यसले उद्योगलाई ऊर्जा आत्मनिर्भर बनाउँदै उत्पादन लागत घटाउनेतर्फ योगदान पुर्याएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस