Like us!
Follow us!
Connect us!
Watch us!

महिनादिनमै १८ करोडले घट्यो क्रेडिट कार्डमार्फत प्रवाह हुने कर्जा, कुन बैंकको कति ?

अर्थ संसार

आइतबार, ०९ कार्तिक २०८२, १४ : १५ मा प्रकाशित

महिनादिनमै १८ करोडले घट्यो क्रेडिट कार्डमार्फत प्रवाह हुने कर्जा, कुन बैंकको कति ?

पछिल्ला केही वर्षयता निरन्तर वृद्धि हुँदै आएको क्रेडिट कार्डमार्फत कर्जा प्रवाह चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा भने घटेको देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन महिनासम्म क्रेडिट कार्ड कर्जा प्रवाह ६ अर्ब ६६ करोड ४१ लाख ३६ हजार २८८ रुपैयाँ पुगेको थियो, तर भदौ महिनामा यो घटेर ६ अर्ब ४८ करोड १० लाख २१ हजार रुपैयाँमा सीमित भएको छ। यसरी हेर्दा केवल एक महिनामै करिब १८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह घटेको पाइएको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्म (असार मसान्तसम्म) क्रेडिट कार्ड कर्जा प्रवाह ५ अर्ब ६६ करोड २२ लाख १६ हजार ५५९ रुपैयाँ थियो। त्यसअघि ०८०/८१ मा ४ अर्ब ५२ करोड ४१ लाख ३१ हजार ३४४ रुपैयाँ र ०७९/८० मा ३ अर्ब ५२ करोड ११ लाख ९५ हजार ४१ रुपैयाँ रहेको थियो। यसरी पछिल्ला तीन वर्षमा क्रेडिट कार्ड कर्जा प्रवाह लगातार वृद्धि हुँदै आएको भए पनि भदौ महिनामा देखिएको गिरावटले नयाँ प्रवृत्तिको सङ्केत गरेको छ।

वित्तीय विश्लेषकहरूका अनुसार यो गिरावटको मुख्य कारण ग्राहकहरूको खर्चमा देखिएको मीतव्ययिता र बैंकहरूले जोखिम व्यवस्थापनमा अपनाएको कडाइ हो। अघिल्ला वर्षहरूमा शहरी क्षेत्रमा क्रेडिट कार्डको प्रयोग तीव्र रूपमा बढेको भए पनि अहिले उपभोगमुखी खर्च घट्दै जाँदा यसको सीधा असर कर्जा प्रवाहमा देखिन थालेको बताइन्छ।

कुन बैंकको कति कर्जा प्रवाह?

राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्मको विवरणअनुसार सबैभन्दा धेरै क्रेडिट कार्ड कर्जा प्रवाह नबिल बैंकले गरेको छ। नबिल बैंकको कर्जा प्रवाह १ अर्ब २१ करोड ७७ लाख ४४ हजार रुपैयाँ रहेको छ। दोस्रो स्थानमा सिद्धार्थ बैंक छ, जसले ८७ करोड ५६ लाख १२ हजार ७३ रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

तेस्रो स्थानमा रहेको कुमारी बैंकले ७८ करोड ७४ लाख ४८ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकले ५९ करोड ६४ लाख ७० हजार, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३५ करोड ६९ लाख ७० हजार, र हिमालयन बैंकले ३५ करोड ६२ लाख ५ हजार बराबरको कर्जा प्रवाह गरेका छन्। माछापुच्छ्रे बैंकले ३२ करोड ८७ लाख, लक्ष्मी सनराइज बैंकले ३२ करोड ३० लाख, र एनआइसी एशिया बैंकले २४ करोड ४८ लाख रुपैयाँ बराबरको क्रेडिट कार्ड कर्जा प्रवाह गरेका छन्। त्यस्तै, एभरेष्ट, सिटिजन्स, प्राइम कमर्सियल, एनएमबी, प्रभु र सानिमा बैंकलगायतले पनि उल्लेखनीय परिमाणमा क्रेडिट कार्ड कर्जा प्रवाह गरेका छन्, तर नेपाल बैंक र कृषि विकास बैंकको कर्जा प्रवाह भने नगण्य रहेको देखिन्छ।

शहरी क्षेत्रमा क्रेडिट कार्डको प्रयोग दर बढ्दै गइरहेको भए पनि ग्रामीण क्षेत्रमा अझै पनि नगद र मोबाइल बैंकिङ सेवामै निर्भरता बढी देखिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको