पछिल्लो ४४ दिनदेखि नेपाल धितोपत्र बोर्डमा कर्मचारीको आन्दोलनका काराण्ले गर्दा कुनै पनि काम हुन सकेको छैन । बोर्डका कर्मचारीहरुले सेवा सुविधाको विषयलाई लिएर निरन्तर रुपमा आफ्नो आन्दोलन जारी राख्दा दैनिक काम नै ठप्प भएको अवस्था छ ।
कर्मचारीहरुले आफ्नो माग पुरा नहुँदासम्मका लागि आन्दोलन जारी रहने बताएका छन् । कर्मचारीको आन्दोलनको प्रभाव धितोपत्र निष्कासनमा समेत परेको छ । बोर्डले पछिल्लो २ महिना भन्दा बढी समयदेखि कुनै पनि कम्पनीलाई प्राथमिक निष्कासन स्वीकृत हुन सकेको छैन । पछिलो पटक बोर्डले भदौको १८ गते “एनएमबि सरल बचत फण्ड इ” को निष्कासन स्वीकृत गरेको थियो । त्यस यता बोर्डबाट कुनै पनि सार्वजनिक निष्कासनले निष्कासन अनुमति पाएका छैनन् ।
“एनएमबि सरल बचत फण्ड इ”ले स्वीकृति पाउनु भन्दा एक दिन अघि १७ गते एसवाइ प्यानललाई प्राथमिक निष्कासन गर्न स्वीकृति दिएको थियो । जसले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । प्राथमिक निष्कासन मात्रै होइन, भदौ १८ गते यता कुनै पनि सार्वजनिक निष्कासनले अनुमति पाएका छैनन् । बोर्डमा अहिले प्राथमिक निष्कासन, हकप्रद, डिबेन्चर र सामूहिक लगानी कोषलगायत सबै किसिमका निष्कासन अवरुद्ध हुन पुगेका छन् ।
पछिल्लो दुई महिनामा दशैं, तिहार र छठ पर्वका बिदा समेत परेका कारण पनि सार्वजनिक निष्कासनले अनुमतिमा केही ढीलाइ भयो । चाडपर्व सकिएर कार्यालय खुलको समयमा पनि बोर्ड कर्मचारीको आन्दोलनका काराण कुनै पनि काम गर्न सकिरहेको छैन । जसले गर्दा ठूलो संख्यामा सार्वजनिक निष्कासनको प्रतिक्षामा रहेका कम्पनीहरु मारमा परेका छन् ।
पछिल्लो समय बोर्डले सार्वजनिक निष्कासनको अनुमति नदिने मात्रै होइन निवेदन समेत लिन सकिरहेको छैन । बोर्डले गएको भदौ १५ गते एक सामूहिक लगानी कोषले निष्कासन अनुमति माग्दै दिएको निवेदन लिएको थियो । त्यसयता कुनै पनि कम्पनीको निवेदन समेत परेको छैन । अहिले बोर्डमा बोनस सेयर, हकप्रद दर्तामा पनि समस्या देखिएको बताइएको छ ।
सार्वजनिक निष्कासन अनुमति नदिइएको कारण दोस्रो बजारबाट पूँजी सङ्कलन गरेर व्यवसाय बिस्तार गर्ने योजनामा रहेका कम्पनीका सबै योजना लथालिङ्ग हुन पुगेका छन्। कतिपय कम्पनी सार्वजनिक निष्कासन गरेर आयोजना अघि बढाउने मनस्थितिमा रहेका थिए। तर ती सबै योजना लथालिङ्ग हुन पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए।
४४ दिनदेखि कर्मचारीले कुनै काम नै नगरेर आन्दोलन गरिरहेका कारण सार्वजनिक निष्कासन अवरुद्ध हुन पुगेको हो । कर्मचारीहरु लामो समयदेखि आन्दोलन गरेर सेवा ठप्प पार्दा पनि तालुकदार नियाक अर्थमन्त्रालले खासै चासो दिएको छैन । यो विषयमा अर्थमन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डये बताउँछन् । सार्वजनिक निष्कासन ठप्प हुँदा पनि अर्थमन्त्रालले चासो नदिनुले सरकार सार्वजनिक निष्कासनमा गम्भिर नभएको देखिन्छ ।
कर्मचारीको आन्दोलन र सरकार, अर्थमन्त्रालय गम्भिर नहुँदा अनुमतिको प्रतिक्षामा रहेका ९९ कम्पनीको निष्कासन बन्धक बनिरहेको छ । अहिले धितोपत्र बोर्डका ९९ कम्पनीले निष्कासनको लागि निवेदन दिएका छन् । जसमा ७४ वटा प्राथमिक निष्कासन छन् भने ८ वटा हकप्रदका निवेदन छन् । एफपिओ र डिबेन्चरका ४/४ वटा निवेदन पर्दा सामूहिक लगानी कोषका ९ वटा निवेदन परेका छन् ।
बोर्डबाट सार्वजनिक निष्कासनको प्रतिक्षामा रहेका कम्पनीहरुको कुल ८० अर्ब ६४ करोड ५१ लाख ४१ हजार २५० रुपैयाँ बराबरका १ अर्ब ३७ करोड ५० लाख ९९ हजार ८६९ कित्ता सेयर तथा इकाई निष्कासन अनुमतिको पर्खाइमा छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस