२०८२ सालको असर मसान्तसम्मको अवधिमा बजारमा साढे ७ खर्ब भन्दा बढी रुपैयाँ चलनचल्तीमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष आर्थिक वर्ष २०८१/०८२ वार्षिक वित्तीय विवरणअनुसार २०८२ असार मसान्तसम्ममा ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ चलनचल्तीमा रहेको हो ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा १०.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा बजारमा ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थियो । बजारमा चलनचल्तीमा रहेका नोटमध्ये सबै भन्दा बढी नोट ५ रुपैयाँका रहेका छन् । केन्द्रीय बैंकका अनुसार अहिले बजारमा ११ थरीका नोटहरु प्रचलनमा रहेका छन् । बजारमा ५ रुपैयाँ दरका ७५ करोड २६ लाख १ हजार ७८६ थान नोट चलनचल्तीमा रहेका छन् । पाँच रुपैयाँ दरका नोट मात्रै बजारमा ३ अर्ब ७६ करोड २५ लाख ८ हजार ९३० रुपैयाँ बराबरका छन् ।
मूल्यका हिसाबले भने सबै भन्दा धेरै मूल्य बराबरको १ हजारका नोटहरु प्रचलनमा रहेका छन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार १ हजार रुपैयाँ दरको ५ खर्ब ३३ अर्ब ४७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको ५३ करोड ३४ लाख ७२ हजार २८६ थान नोट चलनचल्तीमा रहेका छन् । चलनचल्तीका कुल नोटमध्येमा १ रुपैयाँ दरको १६ करोड ९ लाख ७४ हजार ६३५ रुपैयाँ बराबरको १६ करोड ९ लाख ७४ हजार ६३५ थान नोट बजारमा चलनचल्तीमा रहेका छन् । त्यसैगरी २ रुपैयाँ दरको १८ करोड ५० लाख ७८ हजार ६६० रुपैयाँ बराबरको ९ करोड २५ लाख ३९ हजार ३३० थान नोट चलनचल्तीमा रहेका छन् । त्यस्तै १० रुपैयाँ दरको ५ अर्ब ८४ करोड ५७ लाख १२ हजार १० रुपैयाँ बराबरका ५८ करोड ५५ लाख ७१ हजार २०१ थान, २० रुपैयाँ दरको ७ अर्ब ६७ करोड ८७ लाख ४४ हजार ५४० रुपैयाँ बराबरको ३८ करोड ३९ लाख ३७ हजार २२७ थान, २५ रुपैयाँ दरको ५ करोड ७० लाख २० हजार ७५ रुपैयाँ बराबरको २२ लाख ८० हजार ८०३ थान नोट बजारमा चलनचल्तीमा रहेका छन् ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार ५० रुपैयाँ दरको १३ अर्ब ६१ करोड १० लाख ७९ हजार ४०० रुपैयाँ बराबरका २७ करोड २२ लाख २१ हजार ५८८ थान नोट चलनचल्तीमा रहेका छन् । त्यस्तै १०० रुपैयाँ दरका ३१ अर्ब ४१ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको ३१ करोड ४१ लाख ३२ हजार ८९० थान, २५० रुपैयाँ दरको ८ करोड ७४ लाख २१ हजार २५० रुपैयाँबराबरको ३ लाख ४९ हजार ६८५ थान नोट चलनचल्तीमा रहेका छन् । राष्ट्र बैंकका अनुसार बैंकका अनुसार पछिल्लो समय ५०० रुपैयाँ दरको भने १ खर्ब ६५ अर्ब १३ करोड ५८ लाख ८५ हजार ५०० रुपैयाँ बराबरको ३३ करोड २ लाख ७१ हजार ७७१ थान नोट चलनचल्तीमा रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस