आज सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड र आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ । दुवै कम्पनीले लाभांश लगायतका प्रस्तावहरू पारित गर्न साधारणसभा बस्न लागेको हो ।
सिटिजन्स बैंकको १९औं वार्षिक साधारणसभा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ का संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र समूह ‘ख’ का सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यता आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारणसभा रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रा.लि. मा बिहान साढे ९ बजेदेखि शुरु हुँदैछ । सभाले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस