Like us!
Follow us!
Connect us!
Watch us!

रवि–बालेनको सम्झौतामाथि हर्क साम्पाङको आक्रोश: देश विदेशीको हातमा लिलाम गर्न खोजियो

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १० : ५६ मा प्रकाशित

रवि–बालेनको सम्झौतामाथि हर्क साम्पाङको आक्रोश: देश विदेशीको हातमा लिलाम गर्न खोजियो

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति आलोचना गरेका छन्। आइतबार बिहान रवि लामिछाने र बालेन शाहबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सहमतिप्रति कटाक्ष गरेका हुन्।

भिडिओ सन्देशमा उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले बालेन शाहले रवि लामिछानेसँग सम्झौता गरेको आरोप समेत लगाएका छन्।

'सहकारी काण्डदेखि विभिन्न प्रकरणमा तानिएका, एमसिसीजस्ता विषयमा तयारी गर्नेहरूसँग मिलेर सत्ता र कुर्सीका लागि, देशलाई विदेशीका हातमा लिलाम गर्न तयार हुने व्यक्ति को हो ?,' उनले भनेका छन्,' आज विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौं। त्यसलाई संस्थागत गर्न लुकेर बस्ने त्यो व्यक्ति को हो भनेर तपाईंहरूले पनि अनुमान गरिसक्नुभएको होला।'

मेयर साम्पाङले बालेनले जेन–जी पुस्तालाई उक्साएर आन्दोलनमा उतारिएको तर आन्दोलनका क्रममा सयौँ मानिस घाइते हुने र देश जलेर खरानी हुने जस्तो अवस्था आउँदा पनि आफू भने लुकेर बसेको आरोप लगाए।

साम्पाङले भनेका ,'त्यो व्यक्ति भने भित्रै लुकेर बस्छ, टुलुटुलु हेरिरहन्छ, मुसुमुसु हाँसिरहन्छ। बाहिर निस्कने साहस गर्दैन। जेन्जीले सरकारलाई दबाब दिन बोलाउँदा पनि ऊ निस्कँदैन। तर भित्रै बसेर विदेशी शक्तिको सेटिङमा फलाना यस्तो, ढिकाना उस्तो भन्दै आफ्नो मनपरीको सरकार बनाउने खेल खेल्छ। जेन्जीलाई किन उक्साइयो ? जेन्जी उक्साएपछि सिंहदरबार किन जलाइयो ? यत्रो मानिस मरेपछि, घाइते भएपछि किन जेन्जीको अन्त्येष्टिमा समेत सहभागी भएनन् ? किन त्यो अराजकता टुलुटुलु हेरेर मुसुमुसु हाँसिरहे ? विदेशी चलखेल किन यसरी देशभित्र भित्र्याइयो ? देशलाई खरानी बनाएर खरानीको व्यापार किन गर्न खोजियो ?,' 

भिडिओ सन्देशसँगै हर्क साम्पाङले लगातार फेसबुकमा स्ट्याटस पनि लेखेका छन्। ती स्ट्याटसहरूमा पनि उनले रवि र बालेनबीचको एकतालाई लक्ष्य गर्दै त्यसलाई विदेशीको चलखेल भनेका छन्।'सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउनेदेखि सावधान ! देश सिध्याउँछन् यी विदेशी दलालहरुले,' उनले लेखेका छन्।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको