आर्थिक वर्ष २०८१/८२ का लागि हालसम्म १३ वटा वाणिज्य बैंकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश सार्वजनिक गरिसकेका छन्। आइतबारसम्म लाभांश घोषणा गर्ने बैंकहरूमा सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र नबिल बैंक रहेका छन्।
सिद्धार्थ बैंकले सेयरधनीलाई हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ। जसअन्तर्गत ५ प्रतिशत बोनस सेयर र बाँकी ५.५३ प्रतिशत नगद लाभांश रहेको छ। ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ भने स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ।
सिटिजन्स बैंकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश दिएको छ। सानिमा बैंकले बोनस नदिई करसहित नगदमार्फत ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको छ। माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले १० प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० .५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
कृषि विकास बैंकले कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३.२५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ९.७५ प्रतिशत नगद लाभांश रहेको छ । नेपाल एसबिआई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश रहेको छ ।
एनएमबि बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । प्राइम कमर्सियल बैंकले ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्।
नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस