चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म (तेस्रो त्रैमास) मा वाणिज्य बैंकहरूको कुल नाफा ४९ अर्ब रुपैयाँ नाघेको छ। नेपालमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले यो ९ महिनाको अवधिमा जम्मा ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्।
यो नाफा गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष तेस्रो त्रैमाससम्म बैंकहरूको कुल नाफा ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ रहेको थियो। समिक्षा अवधिमा १३ बैंकको नाफा बढ्दा ७ बैंकको नाफा भने घटेको देखिन्छ। व्यक्तिगत बैंकहरूको नाफा विवरण हेर्दा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले ९ महिनामा ३३.९२ प्रतिशत वृद्धि गर्दै ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्ष ५ अर्ब ५ करोड रुपैयाँ थियो। दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ। जसको नाफा ४ अर्ब ४० करोड रुपैयाँमा सीमित भएको छ।
कुमारी बैंकको नाफा १३५१ प्रतिशतले बढेर ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। एभरेष्ट बैंकको नाफा ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३०.६९ प्रतिशत घट्दै ३ अर्ब १४ करोडमा सीमित भएको छ। अन्य बैंकहरूतर्फ हेर्दा प्राइम कमर्सियल बैंकको नाफा ३८.५८ प्रतिशतले बढेर ३ अर्ब ८ करोड, नेपाल बैंकको ०.३४ प्रतिशतले बढेर २ अर्ब ७९ करोड र राष्ट्रिय वाणिज्य बैंकको नाफा १२९.३४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड पुगेको छ।
एनएमबि बैंकको १३.२५ प्रतिशत बढेर २ अर्ब ६८ करोड र सानिमा बैंकले ४२.२२ प्रतिशत बढेर २ अर्ब ३५ करोड नाफा कमाएको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा भने ४.२४ प्रतिशत घटेर २ अर्ब ८ करोडमा सीमित भएको छ।लक्ष्मी सनराइज बैंकको नाफा २३.३६ प्रतिशत बढेर २ अर्ब ३ करोड, सिद्धार्थ बैंकको २० प्रतिशत वृद्धि सहित २ अर्ब १ करोड र माछापुच्छ्रे बैंकको नाफा ५० प्रतिशतले बढेर १ अर्ब ६५ करोड पुगेको छ। नेपाल एसबिआई बैंकको नाफा २१ प्रतिशत बढेर १ अर्ब ४६ करोड पुगेको छ भने कृषि विकास बैंकको नाफा २४.४२ प्रतिशत घटेर १ अर्ब ३९ करोडमा झरेको छ। सिटिजन्स बैंकको नाफा ३५ प्रतिशतले बढेर १ अर्ब ३० करोड पुगेको छ। प्रभु बैंकको नाफा भने ५४ प्रतिशतले घट्दै ८५ करोडमा सीमित भएको छ। हिमालयन बैंकको नाफामा ५२ प्रतिशत वृद्धि देखिएको छ भने एनआईसी एशिया बैंकको नाफा १० प्रतिशत घटेर १४ करोड रुपैयाँमा झरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस