उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्दै कुलमान घिसिङले रास्वपासँग पदको लेनदेन भएको भन्ने प्रचारलाई अस्वीकार गरेका छन्। शनिबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले एकताको प्रक्रियामा आफूले व्यक्तिगत हैसियतभन्दा संगठनको हितलाई प्राथमिकता दिएको स्पष्ट पारे।
घिसिङका अनुसार रास्वपासँगको सहमतिका क्रममा उनी उपाध्यक्ष पदमा रहने प्रस्ताव स्वीकार गर्न समेत तयार थिए, त्यो पनि निर्णय प्रक्रियामा उच्च वरीयता नपाउने अवस्थासहित। अन्तिम घडीसम्म आफूले लचकता देखाएको भन्दै उनले आफू साधारण सदस्य भएर बस्न र आफ्ना पार्टीका नेताहरूलाई मिलाएर लैजानसमेत प्रस्ताव राखेको जानकारी दिए।
एकता भाँडिएपछि बितेका पछिल्ला १२ दिनलाई उनले उज्यालो नेपालका लागि निकै कष्टकर समयका रूपमा चित्रण गरे। सहमति तोडिएको सूचना एकतर्फी रूपमा सार्वजनिक गरिएको र त्यसपछि रास्वपाले विभिन्न स्थानमा उज्यालो नेपालका कार्यकर्तालाई लक्षित गरी पार्टी प्रवेश कार्यक्रमहरू राखेको उनको भनाइ छ। यस अवधिमा उज्यालो नेपालले कुनै प्रतिकृयात्मक गतिविधि नगरे पनि आफ्ना समर्थकहरूले ठूलो मानसिक दबाब झेलेको उनले बताए।
घिसिङले सहमति असफल हुनुको मुख्य कारण संविधानले सुनिश्चित गरेका समावेशिता र संघीयतासम्बन्धी विषयमा रास्वपाको पछिल्लो अडान रहेको उल्लेख गरे। सुरुमा ती आधारभूत मुद्दामा समझदारी भए पनि पछि त्यसबाट पछि हटिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
यसैबीच, उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय कमिटी बैठकले कुलमान घिसिङलाई पार्टी अध्यक्षमा नियुक्त गरेको छ। सो बैठकपछि नेता गणेश घिसिङले निर्णय सार्वजनिक गर्दै अब पार्टीलाई नयाँ चरणमा अघि बढाइने जानकारी दिए। कुलमान घिसिङ आजै औपचारिक रूपमा उज्यालो नेपालको सदस्य बनेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस