Like us!
Follow us!
Connect us!
Watch us!

गणतन्त्रमा नेपोबेबी शासन स्वीकार्य छैन :गगन थापा

अर्थ संसार

आइतबार, २७ पुस २०८२, १९ : ४५ मा प्रकाशित

गणतन्त्रमा नेपोबेबी शासन स्वीकार्य छैन :गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पार्टीभित्र आलोचना, प्रश्न र असहमति दबाउने संस्कारको अन्त्य हुनुपर्ने स्पष्ट सन्देश दिएका छन्। उनले कांग्रेस कुनै व्यक्तिको नियन्त्रणमा रहने संगठन नभई सचेत कार्यकर्ता र जनताको चेतनाले चल्ने राजनीतिक संस्था भएको उल्लेख गरे।

उनका अनुसार कांग्रेसभित्र बोल्ने अधिकार कसैले खोस्न सक्दैन। विचार, असन्तुष्टि र प्रश्न नै पार्टीलाई जीवित राख्ने शक्ति भएको भन्दै उनले प्रश्न गर्न नपाउने पार्टीले समाजका समस्यामा पनि हस्तक्षेप गर्न नसक्ने बताए।

थापाले पछिल्लो समय देशभर देखिएको जेनजी आन्दोलनप्रति संकेत गर्दै त्यसमा देखिएको आक्रोश व्यक्तिविशेषसँग नभई राज्य सञ्चालनको शैलीसँग जोडिएको बताए। उनका अनुसार सडकमा देखिएको असन्तुष्टि भ्रष्टाचार, कुशासन र जवाफदेही नहुँदा जन्मिएको हो, जसको जिम्मेवारी सत्ता र संसद्मा बसेका दलहरूले लिनुपर्ने हुन्छ।

उनले गणतन्त्र स्थापना भइसकेपछि पनि शक्ति र अवसर सीमित परिवार वा गुटमै सीमित हुन खोज्दा नयाँ पुस्ता निराश बनेको धारणा राखे। यस्तो अवस्थामा जनताको आवाजलाई बेवास्ता नगरी सुन्ने, बुझ्ने र सुधारतर्फ अघि बढ्ने अवसर विशेष महाधिवेशनले दिएको उनको भनाइ थियो।

महामन्त्री थापाले कांग्रेसको सबैभन्दा शक्तिशाली निकाय महाधिवेशन नै भएको भन्दै यही मञ्चबाट नेतृत्व, नीति र विधानसमेत परिवर्तन हुन सक्ने बताए। प्रतिनिधिहरूको इच्छाअनुसार पार्टीको भावी बाटो तय हुने र आफू त्यसलाई स्वीकार्न तयार रहेको उनको भनाइ थियो।

यसैक्रममा उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति पनि संकेत गर्दै समयको मागअनुसार नेतृत्वले बाटो खोल्न सक्नुपर्ने धारणा व्यक्त गरे। पार्टीभित्र कोही मालिक र कोही दास नहुने स्पष्ट पार्दै सदस्यदेखि सभापतिसम्म सबैको हैसियत बराबर भएको बताए।

महाधिवेशनको बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने र त्यसमा शीर्ष नेताहरू पनि सहभागी हुने अपेक्षा रहेको उनले बताए। आवश्यक परे पार्टीलाई सही दिशामा लैजान आफूहरू राजनीतिक जोखिम लिनसमेत तयार रहेको उनको सन्देश थियो।

उनका अनुसार कांग्रेस ठीक ठाउँमा उभिन सके देश पनि सही दिशामा अघि बढ्न सक्छ। त्यसैले यो महाधिवेशन केवल पार्टीको आन्तरिक कार्यक्रम नभई देशको राजनीतिक भविष्यसँग जोडिएको अवसर भएको उनले उल्लेख गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको