Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र सुधार हुँदैन - अर्थमन्त्री खनाल

अर्थ संसार

सोमबार, १२ माघ २०८२, १२ : ४१ मा प्रकाशित

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन नगरे अर्थतन्त्र सुधार हुँदैन  - अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनबाट प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। आन्तरिक उत्पादनमा वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न कठिन हुने स्पष्ट पार्दै उनले स्वदेशमै उत्पादन गर्न सकिने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत नियन्त्रण गर्नुपर्ने बताए।

७४ औं अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले अर्थतन्त्रलाई मजबुत बनाउने गरी आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने स्पष्ट र प्रभावकारी नीति निर्माण आवश्यक रहेको उल्लेख गरे। उनले भन्सार ऐनको प्रभावकारी कार्यान्वयन तथा भन्सार नियमावली छिट्टै ल्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

निजी क्षेत्रबाट उठाइएका केही मागहरू क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्दै उनले सुधारका प्रारम्भिक चरणमा आलोचना आउनु स्वभाविक भएको बताए। सुधार निरन्तर चल्ने प्रक्रिया भएकाले त्यसका लागि नेतृत्व तहबाट दृढ पहल आवश्यक रहेको उनको भनाइ थियो। तराईका जिल्लामा लागूऔषध दुर्व्यसनको समस्या बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराउँदै अर्थमन्त्री खनालले नेपालमा आयात प्रतिबन्धित वस्तुहरू कसरी भित्रिरहेका छन् भन्ने विषयमा प्रश्न उठाए। साथै, अन्तरराष्ट्रिय भन्सार दिवसको अवसर पारेर उत्पत्तिको प्रमाणपत्र राष्ट्रिय एकद्वार प्रणालीमार्फत मात्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिए। अब क्युआर कोडसहितको उत्पत्तिको प्रमाणपत्र अनलाइनमार्फत जारी गरिने उनले बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको