उत्पादन तथा प्रशोधन समूहका सबै कम्पनीले आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेका छन् । नेप्सेमा यो समूहमा सूचीकृत भएका सबै १३ वटै कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।
सबै समूहरुले चालु आर्थिक वर्षको ६ महिना भित्रै साधारणसभा सम्पन्न गरेका हुन् । यो समूहका १३ वटा कम्पनीमध्ये ६ वटाले मात्रै आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । लाभांश दिएकामध्ये पनि ५ वटाले बोनस सेयर दिएका छन् भने एउटा कम्पनीले नगदा मात्रै लाभांश दिएको छ । सर्वाधिक लाभांश वितरण गर्दै आएको युनिलिभर नेपालसँगै हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, नेपाल ल्यूब आयल र घोराही सिमेन्टले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । त्यस्तै बोटलर्स नेपाल, बोटलर्स नेपाल तराई, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी, एसवाई प्यानल नेपाल, सोनापुर मिनरल्स एन्ड आयल र ओम मेगाश्री फर्मास्युटिकल्सले भने लाभांश वितरण गरेनन् ।
यस वर्ष सबैभन्दा पहिलो गत असोज ३१ गते नै वार्षिक साधारणसभा सम्पन्न गरेको नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको रुपमा रहेको युनिलिभर नेपालले यस वर्ष प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश वितरण गरेको छ ।
त्यस्तै लाभांश दिएको कम्पनीमध्ये हिमालयन डिस्टिलरीले २० प्रतिशत बोनस सेयर र करसमेत ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत, शिवम् सिमेन्टले २.५० प्रतिशत बोनस सेयर र करसमेत १० प्रतिशत नगद लाभांश गरी कुल १२.५० प्रतिशत, सर्वोत्तम सिमेन्टले ५ प्रतिशत बोनस र करसमेत १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत र घोराही सिमेन्टले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेका छन् ।
यस वर्ष बोटलर्स नेपालका दुवै कम्पनीले लगानीकर्ताको हात खाली बनाएका छन् । बोटलर्स नेपाल (बालाजु) ले आव २०७८/७९ पछि लाभांश वितरण गरेको छैन । आव २०७८/७९ मा बोटलर्स नेपाल (बालाजु) ले करसहित २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । विगत वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बोटलर्स नेपाल (तराई) ले यस वर्ष लाभांश दिएन । विगत वर्षहरूमा अधिकतम ८५ प्रतिशतसम्म नगद लाभांश वितरण गरेको यस कम्पनीले गतवर्ष करसहित ५० प्रतिशत नगद लाभांश बाँडेको थियो ।
लाभांश वितरण नगर्ने बाँकी कम्पनीमा भर्खरै सर्वसाधारणमा सेयर जारी गरेका कम्पनीहरु रहेका छन् । सोनापुर मिनरल्सले २०८० असोज २४ गते र ओम मेगाश्री फर्मास्युटिकल्सले २०८१ साल चैत १२ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेका थिए । यीबाहेक सागर डिस्टिलरीले गत असोज १२ गते, श्रीनगर एग्रिटेकले कात्तिक १२ गते र एसवाई प्यानलले कात्तिक ३० गते सर्वसाधारणलाई आईपीओ बिक्री गरेर बाँडफाँट गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस