नेपाल धितोपत्र बोर्डले एकै दिन विभिन्न चार कम्पनीहरुलाई अग्राधिकार, हकप्रद सेयर र ऋणपत्र जारी गर्न अनुमति दिएको छ । बोर्डले माघ २१ गते बुधबार एकै दिन चार फरक–फरक कम्पनीहरुलाई फरक फरक निष्कासनका लागि अनुमति दिएको हो ।
बोर्डले बुद्धभूमी नेपाल हाइड्रोपावरलाई हकप्रद सेयर, सानिमा बैंकलाई अग्राधिकार सेयर, आइसिएफसी फाइनान्सलाई ऋणपत्र र गरिमा क्यापिटलको सामूहिक लगानी योजनालाई निष्कासन स्वीकृति दिएको हो । बोर्डले बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो ।
त्यसैगरी सानिमा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा नयाँ उपकरणका रूपमा ‘८.२५ प्रतिशत सानिमा अविमोच्य सञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने स्वीकृति पाएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यका २ करोड कित्ता अर्थात् २ अर्ब रुपैयाँ बराबरका सेयर परिपत्र विधिबाट बिक्री गर्नेछ । यसमा लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशत लाभांश प्राप्त गर्नेछन् र यसको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
आइसिएफसी फाइनान्स लिमिटेडले ‘८ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८९’ निष्कासन गर्न अनुमति पाएको छ । सात वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन् । फाइनान्सले १ हजार रुपैयाँ अकिंत मूल्यका ५ लाख कित्ता अर्थात् ५० करोड रुपैयाँ बराबरका ऋणपत्र जारी गर्नेछ ।
त्यसैगरी गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’ नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति पाएको छ । १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको योजना स्वीकृत भएको हो र यसको व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड स्वयं रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस