सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यस निष्कासनका लागी कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागी निष्काशन गर्न लागेको हो । यस सम्बन्धमा माघ २७ गते काठमाडौं नक्साल स्थित सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा दुवै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. ऋषिराम शर्मा तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेश अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
वि.सं. २०४३ माघ ११ गते स्थापना भई औपचारिक रुपमा २०४६ सालदेखी उत्पादन गरिरहेको सिद्धार्थ फर्मास्युटिकल्सले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादन मार्फत नेपाली स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ । कम्पनीले WHO–GMP/ National-GMP प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीको मूल लक्ष्य “कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधिबाट वञ्चित नहोस” भन्ने विश्वासमा आधारित छ ।
यस कम्पनीको अत्याधुनिक उत्पादन प्लान्ट रुपन्देही जिल्लाको तिलोत्तमा–१५ मा रहेको छ । यस प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया WHO–GMP मापदण्ड अनुरूप रहेका छन्, जसको उद्देश्य ग्राहकको आवश्यकता पूरा गर्दै उच्चतम गुणस्तरका उत्पादनहरू सुनिश्चित गर्नु रहेको छ । कम्पनीका सबै इकाईहरूमा गुणस्तरीय अत्याधुनिक र विश्वस्तरीय उपकरणहरू रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस