चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ऋणात्मक रहेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकसम्मको अवपरिष्कृत वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुको नाफा ऋणात्मक देखिएको हो ।
१४ वटा निर्जीवन बीमा कम्पनीहरुको नाफा चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ४१ करोड १५ लाख रुपैयाँले ऋणात्मक देखिएको हो । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेका थिए । वित्तीय विवरण अनुसार एउटा निर्जीवन बीमा कम्पनीको मात्रै नाफा बढेको छ । ६ वटा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ ।
वित्तीय विवरण अनुसार यो अवधिमा पाँच वटा कम्पनीहरुको खुद नाफा ऋणात्मक रहेको छ । यो अवस्थामा द ओरियण्टल र नेशनल इन्स्योरेन्सको नाफा धनात्मक बनेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा प्रभु इन्स्योरेन्स कम्पनीको नाफा मात्रै गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा बढेको छ । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा २.०१ प्रतिशतले बढेर १२ करोड २४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको मुनाफा गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड रुपैयाँ रहेको थियो ।
धेरै नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी
निर्जीवन बीमा कम्पनीहरुमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा धेरै नाफा कमाउने कम्पनीमा भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा १७ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको वर्षको सोही अवधिमा यो कम्पनीको नाफा ४४ करोड ४९ लाख रुपैयाँ रहेको थियो । जेन–जी आन्दोलनमा ठूलो मात्रामा बीमा दावी परेको र गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नाफा ऋणात्मक अवस्थामा रहेको द ओरिण्टल इन्स्योरेन्स ऋणात्मक अवस्थाबाट बाहिर निस्केको छ । यो कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यो कम्पनी १९ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा नेशनल इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । यो कम्पनी पनि गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा नोक्सानीमा रहेको थियो । त्यस्तै यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै यो अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा १ करोड ५७ लाख रुपैयाँ रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षका साही अवधिमा १५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्षको ६ महिनामा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यो कम्पनीको नाफा ९०.१५ प्रतिशतले घटेको हो ।
यो अवधिमा एनएलजी इन्स्योरेन्सको नाफा १ करोड १० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोअी अवधिमा यो कम्पनीको नाफा ७ करोड ४५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ८५.१८ प्रतिशतले घटेको हो ।
वित्तीय विवरण अनुसार यो अवधिमा नेको इन्स्योरेन्सले १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ९३.०९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा यो कम्पनीको नाफा १५ करोड ६० लाख रुपैयाँ रहेको थियो । त्यस्तै यो अवधिमा नेपाल इन्स्योरेन्सले ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनमा ९४.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा यो कम्पनीले ८ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्स ४ करोड ४७ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्स ९ करोड ५९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको १० करोड ६६ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १७ करोड ८५ लाख रुपैयाँ र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सको १८ करोड ११ लाख रुपैयाँ मुनाफा ऋणात्मक रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस