Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ५० प्रतिशतले बढ्यो, आधा खर्ब बढीको दाबी भुक्तानी बाँकी हुँदा कुनको कति ?

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, १२ : २५ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी ५० प्रतिशतले बढ्यो, आधा खर्ब बढीको दाबी भुक्तानी बाँकी हुँदा कुनको कति ?

निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबीको भुक्तानी गर्नु पर्ने रकम बढ्दै गएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा जिर्नीवन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दाबी ५० अर्ब भन्दा बढी पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५० प्रतिशतले बढी हो । 

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा भुक्तानी गर्न बाँकी रहेको दाबी रकम ५० अर्ब ७९ करोड २० लाख पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.६७ प्रतिशतले धेरै हो । गत भदौ महिनामा भएको जेनजी आन्दोलन, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी पर्दा भुक्तानी गर्नुपर्ने रकम बढेको हो । 

पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ लाख १३ हजार ७२८ वटा दाबीको रकम भुक्तानी गर्नु पर्ने देखिन्छ । प्राधिकरणले प्रकाशन गरेको दोस्रो त्रैमासिक रिर्पोटअनुसार गत आवको यही अवधिमा बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी दाबी रकम ३३ अर्ब ७१ करोड १४ लाख रुपैयाँ थियो ।

१३ अर्ब मात्रै भुक्तानी

बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ अर्ब भन्दा बढीको दाबी भुक्तानी दिएका छन् । कम्पनीहरुले कुल ७१ हजार २४९ वटा दाबी संख्याको १३ अर्ब २७ करोड ५३ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् । गत आवको पुस मसान्तसम्मको तुलनामा दाबी भुक्तानी संख्यामा ९.४१ प्रतिशतले वृद्धि भएको छ भने दाबी रकममा ३०.६६ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको यही अवधिमा बीमा कम्पनीहरूले ६५ हजार १२० वटा दाबी संख्याको १० अर्ब १६ करोड १ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो ।

६ महिनाको अवधिमा सबैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले ६ महिनामा २ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रकम भुक्तानी गरेको छ । त्यस्तै यो अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले १ अर्ब ७४ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब २४ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै दोस्रो त्रैमाससम्ममा आईजिआई प्रुडुन्सियलले १ अर्ब १३ करोड ९० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९७ करोड २९ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ३२ करोड ३२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ९२ करोड ४५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६७ करोड ५० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३० करोड, प्रभु इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७ करोड ७८ लाख रुपैयाँ, सानिमा जिआईसीले ७५ करोड ७५ लाख रुपैयाँ, दि ओरियन्टल ६१ करोड १७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ६८ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

बीमा प्राधिकरणका अनुसार दोस्रो त्रैमासिकसम्ममा नेपाल माइक्रोले ३ करोड ७ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ३ करोड १८ लाख रुपैयाँ, स्टार माइक्रोले २ करोड ९ लाख रुपैयाँ र ट्रस्ट माइक्रोले ३ करोड ८१ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको