राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक अवस्था र निर्वाचन प्रक्रियाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सुनसरीको चक्रघट्टीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले २०८४ सालमा हुनुपर्ने चुनावलाई २०८२ सालमै जबरजस्ती गराइएको भए तापनि यसले मुलुकको समस्या समाधान नगर्ने जिकिर गरे।
उनले भने, ‘यही व्यवस्था ठिक छ र यही चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर मुलुकलाई जबरजस्ती चुनावतर्फ लगियो भने समस्या केही समयका लागि टर्ला, तर पछि झन् जटिल र भयानक बन्नेछ, देश दुर्घटनातर्फ जानेछ ।’
लिङ्देनको देशमा कसैले पनि आफूलाई निषेधित भएको महसुस नगर्ने वातावरण बनाउन आवश्यक रहेको भन्दै राजा, राजनीतिक दल र नवयुवा पुस्ताबीच नयाँ समझदारी आवश्यक रहेको भनाइ छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देशलाई सुझावको रूपमा आएको भन्दै लिङ्देनले त्यसलाई सकारात्मक रूपमा लिन राजनीतिक दलहरूलाई आग्रह गरे । उनले देशलाई केन्द्रमा राख्दै नेपाल प्रथम, नेपाली प्रथम को भावनासहित नयाँ सहमति गर्न आह्वान गरे ।
आगामी निर्वाचनलाई देशको भविष्य र अस्तित्वसँग जोड्दै उनले सामाजिक सञ्जालको लहरमा नबगी गम्भीरतापूर्वक मतदान गर्न नागरिकलाई आग्रह गरेका छन्। वर्तमान व्यवस्थाले मुलुकलाई संकटतर्फ धकेलेको दाबी गर्दै लिङ्देनले समस्या व्यक्तिमा मात्र नभई व्यवस्थामा समेत रहेकाले देश बचाउन अविलम्ब व्यवस्था परिवर्तन र नयाँ सहमति आवश्यक रहेको चेतावनी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस