राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थका आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। बिहीबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामग्रीले मतदाताको धारणा प्रभावित पार्न सक्ने भएकाले सचेत रहन सुझाव दिए।
विशेषगरी युवापुस्तालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा देखिने सामग्रीभन्दा देशको वास्तविक अवस्था र धरातलीय यथार्थलाई हेरेर निर्णय लिनुपर्ने बताए। उनका अनुसार यसपटकको निर्वाचन केवल एक सांसद चयन गर्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर हो। अध्यक्ष लिङदेनले देशको अस्तित्व नै संकटमा परेको दाबी गर्दै ‘नेपाल प्रथम’ को सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले गम्भीर रूपमा विचार गरेर मतदान गर्नुपर्नेमा जोड दिए। विगतमा असफल भइसकेका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको उनले बताए।
नेपालको निर्णायक शक्ति बिस्तारै नेपाली जनताबाट बाहिर जान थालेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित गर्न आवश्यक रहेको धारणा राखे। वैदेशिक हस्तक्षेप र विदेशी चलखेलबारे काठमाडौंवासी सचेत रहेको दाबी गर्दै उनले देशको रक्षा र विकासका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ सहित देशभर राप्रपाका उम्मेदवारलाई विजयी गराउन अपिल गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस