नेकपा एमालेले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा पुँजी बजारको प्रभाकारी नियमन र लगानी कर्ताको हित संरक्षण गर्ने घोषणा गरेको छ । एमालेले आज सार्वजनिक गरेको घोषणापत्रमा पुँजी बजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गरी लगानीका लागि स्वपुँजी र दीर्घकलीन ऋण परिचालन गर्ने, सेयर लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख गरेको हो ।
वित्तीय क्षेत्र विकास रणनीति परिमार्जनसहित कार्यान्वयन गरी नागरिकको वित्तीय पहुँच बृद्धि, बचतको सुरक्षा र उच्च आर्थिक बृद्धिका लागि आवश्यक लगानी परिचालन गर्ने उल्लेख छ । घोषणापत्रमा बैंक तथा वित्तीय संस्थाको नियमन सुदृढ गर्दै ऋण लगानी कृषि, उद्योग, ऊर्जा र अन्य पूर्वाधार उत्पादनमूलक क्षेत्रतर्फ परिचालन गर्ने, बीमा सेवाको प्रभावकारी नियमन, जनशक्ति विकास, मूल्याङ्कनको विश्वसनीयता बृद्धि तथा भुक्तानी दावी सहज तुल्याउँदै पहुँच विस्तार गर्ने उल्लेख छ ।
यस्तै सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका बचत परिचालन गर्ने संस्थाको प्रभावकारी नियमन गर्ने जनाएको छ । यस्तै वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने, डिजिटल मुद्रा सञ्चालनमा ल्याउने, वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गर्ने, नियोजितरूपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्नेछौं । सानोतिनो ऋणको आवश्यकता वित्तीय प्रणालीमार्फत् उपलब्ध गराई मिटरव्याजी समस्या हल गर्ने उल्लेख छ ।
हाईब्रिड एन्यूटी, व्लेण्डेड तथा भेञ्चर क्यापिटल, क्राउड फण्डिङ्ग, प्राइभेट इक्विटी, डायस्फोरा वण्ड, हरित वण्ड, जलवायु वित्तलगायतका वैकल्पिक वित्तको प्रबन्ध गरी उच्च आर्थिक बृद्धिका लागि पूँजी लगानीको आवश्यकता पुरा गर्ने उल्लेख छ । वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको उत्पादनशील क्षेत्रमा उपयोग गर्न व्यवसायिक कृषि, साना मझौला उद्योग व्यवसाय तथा सेयर बजारमा लगानीका अवसर सिर्जना गर्ने र विदेशी मुद्रा सञ्चि उच्च प्रतिफल प्राप्त हुनेगरी सुरक्षित र लाभप्रद लगानी गर्ने उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस