Like us!
Follow us!
Connect us!
Watch us!

लगानी समूहका ७ कम्पनी - तीन कम्पनीको नाफा घट्दा कुनको अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, १२ फागुन २०८२, ११ : २३ मा प्रकाशित

लगानी समूहका ७ कम्पनी - तीन कम्पनीको नाफा घट्दा कुनको अवस्था कस्तो ?

नेप्सेमा १३ वटा उपसूचकमध्ये लगानी समूह एक हो । यो समूहमा ७ वटा कम्पनी सूचीकृत छन् । लगानी समूहका कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समग्रमा नाफामा गिरावट देखिएको छ । 

वित्तीय विवरण अनुसार ७ वटा कम्पनीमध्ये ३ वटाको नाफामा गिरावट देखिएको छ भने चार वटा कम्पनीको नाफामा वृद्धि देखिएको छ । त्यसमध्ये एउटा कम्पनी नोक्सानीमा रहेको छ । यो समूहका कम्पनीमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड नोक्सानीमा रहेको छ । तथ्यांक अनुसार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट (एचआईडीसीएल), नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट (एनआरएन) को खुद नाफा गत वर्षको तुलनामा घट्दा इमर्जिङ नेपाल, सीइडीबी होल्डिङ्स लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र नागरिक लगानी कोषको नाफा भने गत वर्षको पुस मसान्तको तुलनामा बढेको छ । 

नाफा धेरै कमाउनेमा यो समूहको नागरिक लगानी कोष अगाडि देखिए पनि नाफा धेरै वृद्धि गर्नेमा भने इमर्जिङ नेपाल लिमिटेड अगाडि देखिएको छ । इमर्जिङ नेपालले गत आवको पहिलो ६ महिनामा ९३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेकोमा चालु आवको पहिलो ६ महिनामा बढेर १ करोड ७० लाख ८० हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ८१.९३ प्रतिशतले धेरै हो । 

त्यस्तै सीइडीबी होल्डिङ्स लिमिटेडको नाफा गत वर्ष ६ महिनाको अवधिमा चालु आवको ६ महिनामा ५०.६५ प्रतिशतले बढेर ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ । यो कम्पनीले गत आवको पुस मसान्तसम्मको अवधिमा २० करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यस्तै हाथवे इन्भेष्टमेन्टको गत वर्षको तुलनामा ३०.३० प्रतिशतले नाफा बढेर १ करोड ९४ लाख ४३ हजार पुगेको छ भने नागरिक लगानी कोषको ६.९२ प्रतिशतले बढेर ६६ करोड ५३ लाख रुपैयाँ पुगेको छ । एनआरएनले चालु आवको पहिलो ६ महिनामा ५२ लाख ९३ हजार रुपैयाँ खुद नोक्सानीमा गएको छ । त्यस्तै निफ्रा ३६ प्रतिशत र एचआइडीसीको नाफामा २३ प्रतिशतको गिरावट देखिएको छ । 

कुनको चुक्ता पुँजी कति ? 

लगानी समूहका ७ वटा कम्पनीमध्ये एचआइडीसीएलको चुक्ता पुँजी २४ करोड ९२ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट १.५ प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी वृद्धि गरेको थियो । निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रहँदा एनआरएनले ४० प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी १ अर्ब ७९ करोड ७१ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । 

त्यस्तै नागरिक लगानी कोषले ५ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी ६ अर्ब ८० करोड ५७ लाख ९८ हजार रुपैयाँ पुर्याउँदा हाथवे नेपालले १२ प्रतिशतले पुँजी वृद्धि गरेर १ अर्ब ५८ करोड ५५ लाख रुपैयाँ पुर्याएको छ ।

प्रतिसेयर आम्दानीको अवस्था के छ ? 

लगानी समूहका ७ वटा कम्पनीहरुमध्ये सबै भन्दा धेरै प्रतिसेयर आम्दानी हुने कम्पनी सीइडीबी होल्डिङ हो । चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ६१.०३ रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो धेरै प्रतिसेयर आम्दानी नागरिक लगानी कोषको छ । कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ छ । अन्य लगानी समूहका कम्पनीको प्रतिसेयर आम्दानी निकै कम मात्रै रहेको छ । यो अवधिमा इमर्जिङ नेपालको प्रतिसेयर आम्दानी ६.१५ रुपैयाँ, हाथवे नेपालको १.२३ रुपैयाँ, एचआइडीसीएलको ३.२३ रुपैयाँ तथा निफ्राको ३.८० रुपैयाँ छ ।

नेटवर्थमा को अघि ?  

चालु आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा लगानी समूहका कम्पनीहरुमध्ये नेटवर्थ धेरै हुने कम्पनीमा नागरिक लगानी कोष शिर्ष स्थानमा देखिएको छ । कोषको नेटवर्थ २८०.४६ रुपैयाँ छ । त्यस्तै दोस्रो सीइडीबी होल्डिङस रहेको छ  । यसको नेटवर्थ २४०.८७ रुपैयाँ छ । त्यस्तै एनआरएनको १७४.४९ रुपैयाँ नेटवर्थ रहँदा एचआइडीसीएलको ११२.०२ रुपैयाँ, निफ्राको ११४.७५ रुपैयाँ र इमर्जिङ नेपालको ११०.४६ रुपैयाँ रहेको छ । हाथवे इन्भेष्टमेन्ट नेपालको नेटवर्थ भने ७३.१५ रुपैयाँ रहेको छ । यसको सेयरको अंकित मूल्य ५० रुपैयाँ रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको