Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री वाग्लेले भने– उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं तर छाडा हुन दिन्नौं

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, ११ : ०४ मा प्रकाशित

अर्थमन्त्री वाग्लेले भने– उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं तर छाडा हुन दिन्नौं

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगीहरूलाई ढुक्क भएर लगानी गर्न र विदेशी लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरेका छन् ।  नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो आग्रह गरेका हुन् ।

भेटमा मन्त्री वाग्लेले वर्तमान सरकार बलियो आधारमा बनेको र जनताको ठूलो आशा रहेकाले यो समयलाई देशको उन्नतिका लागि सदुपयोग गर्ने बताए । निजी क्षेत्रले लामो समयदेखि खोजेको राजनीतिक स्थिरता प्राप्त भएको उल्लेख गर्दै उनले अबको मुख्य लक्ष्य आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिए ।

आफ्नो कार्यभार सम्हालेकै दिन सरकारले १५ वटा कानुन खारेज गरेर निजी क्षेत्रमैत्री वातावरण बनाउन खोजेको उनले स्मरण गराए ।

उनले भने,‘हामी निजी क्षेत्रप्रति कति उदार र सहयोगी छौं भन्ने सन्देश पहिलो दिनकै निर्णयबाट दिइसकेका छौं । हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं, तर उदारताको अर्थ नियमनविहीन छाडापन भने होइन । इमानदारीपूर्वक उद्योग र व्यापार गर्नेहरूलाई सरकारले दिल खोलेर सहयोग गर्छ ।’

अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत निजी क्षेत्रका समस्या र अपेक्षालाई फरक ढंगले सम्बोधन गर्न लागिएको संकेत गरे । उनले निजी क्षेत्रमैत्री आर्थिक वातावरण निर्माण गर्नु नै सरकारको प्राथमिकता रहेको बताए । नमूना औद्योगिक पार्क निर्माणका लागि निजी क्षेत्रले राखेको मागका सम्बन्धमा मन्त्री वाग्लेले सकारात्मक प्रतिक्रिया दिए । कुनै ठूला बहुराष्ट्रिय कम्पनी वा ठूलो लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन पहल थाल्न उनले व्यवसायीहरूलाई सुझाव दिए । उनले भने ,‘स्वदेशी, ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध छ। तपाईंहरू उत्साहित भएर लगानी गर्नुस् र विदेशी लगानी ल्याउने वातावरण बनाउनुस्, सरकारले सबैखाले सहयोग र सहजीकरण गर्नेछ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको