अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशको रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन्।
मन्त्री वाग्लेले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ आफूहरू सरकारमा आएको बताउँदै निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न र व्यवसाय विस्तार गर्न आग्रह गरे । भेटका क्रममा उनले इमानदार व्यवसायीहरूले राज्यका तर्फबाट कुनै पनि प्रकारको दुःख वा हैरानी पाउने अवस्थाको अन्त्य गर्ने ग्यारेन्टी गरे । उनले उद्योग र अर्थतन्त्रको विकासका लागि राज्यले गर्नुपर्ने कामबारे सुझाव दिन निजी क्षेत्रलाई आह्वान गर्दै ती सुझावहरू कार्यान्वयन गर्न सरकार तयार रहेको बताए । यद्यपि उनले व्यावसायिक इमानदारितामा भने विशेष जोड दिएका छन् ।
‘तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले दिन्छ,’ उनले व्यवसायीहरूलाई भने, ‘देश बनाउने हुटहुटी बोकेर हामी आएका छौं, आउनुस् अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौं । इमानदार उद्योगी र व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन दिँदैनौं । रोजगारी सिर्जना गर्नेहरूले अब राज्यका निकायबाट हैरानी पाउँदैनन्, त्यसको ग्यारेन्टी म लिन्छु । निजी क्षेत्र इमानदार भइदिए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, तर नियोजित र प्रायोजित गल्ती वा बेइमानीमा भने हामी निर्मम हुन्छौं ।'
मन्त्री वाग्लेले नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रले व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै यसलाई तत्कालै गरिहाल्ने पक्षमा आफू नरहेको बताए । निजी क्षेत्रको पिरमर्का बुझेको उल्लेख गर्दै उनले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्षलाई एकै ठाउँमा उभिन समेत आग्रह गरे । छलफलमा चेम्बरका पदाधिकारीहरूले अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको भूमिका र सरकारबाट अपेक्षित सहयोगका विषयमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस