नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेको पहिलो सातामै अर्थतन्त्रमा संरचनागत सुधारका लागि स्पष्ट खाका प्रस्तुत गर्दै कार्यशैलीमा परिवर्तनको संकेत दिएका छन्। चैत्र १३ गते शपथ ग्रहण गरेसँगै उनले मन्त्रालयमा नीतिगत निर्णय, प्रशासनिक सुधार, निजी क्षेत्रसँग सहकार्य तथा आगामी बजेट तयारीलाई तीव्रता दिएका छन्।
कार्यभार सम्हाल्नेबित्तिकै उनले अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गर्ने प्रतिबद्धतासहित तीन महत्त्वपूर्ण नीतिगत निर्णय गरेका छन्। यसअन्तर्गत चैत्र १२, २०८२ सम्मको आर्थिक स्थितिपत्र तत्काल तयार गर्ने, १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना निर्माण गर्ने तथा ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१’ का सिफारिसअनुसार १५ वटा पुराना तथा असान्दर्भिक ऐन खारेज प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ। साथै निजी क्षेत्रको सुरक्षा, उद्यम प्रवर्द्धन र ठूला आयोजना सहजीकरणका लागि नयाँ विधेयक ल्याउने वा विद्यमान कानुन संशोधन गर्ने प्राथमिकता तय गरिएको छ।
प्रशासनिक सुधारतर्फ उनले राजनीतिक हस्तक्षेप अन्त्य गर्ने संकेत दिँदै ३० जना उपसचिवलाई योग्यता र दक्षताको आधारमा पदस्थापन गरेका छन्। यस अवधिमा उनले मन्त्रालयअन्तर्गतका प्रमुख महाशाखा, विभाग, कार्यालय र प्राधिकरणहरूको विस्तृत ब्रिफिङ लिँदै बजेट कार्यान्वयन, राजस्व संकलन र चुहावट नियन्त्रणका उपायबारे छलफल गरेका छन्। राजस्व संकलन लक्ष्यभन्दा कम भइरहेको अवस्थालाई ध्यानमा राख्दै उनले उच्चस्तरीय बैठकमार्फत सुरक्षा निकाय र प्रशासनलाई सक्रिय हुन निर्देशन दिएका छन्। सेवाग्राहीलाई अनावश्यक दुःख नदिई कडाइका साथ राजस्व उठाउन र लक्ष्यभन्दा बढी संकलन गर्न उनले जोड दिएका छन्।
निजी क्षेत्रको मनोबल उच्च बनाउन उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग छलफल गर्दै लगानी विस्तार र रोजगारी सिर्जनामा सक्रिय हुन आग्रह गरेका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि उनले तयारी सुरु गरिसकेका छन्। सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरिएको छ भने एक सातामै उनले तीन दर्जनभन्दा बढी मन्त्रिस्तरीय निर्णय गरिसकेका छन्।
सरोकारवालाको सुझाव समेट्न उनी वीरगन्ज पुगेर एकीकृत भन्सार जाँचपास केन्द्र, आन्तरिक राजस्व कार्यालय पर्सा र बारा निरीक्षण गर्नुका साथै उद्योगी व्यवसायीसँग अन्तक्रिया गर्दै बजेटका लागि सुझाव संकलन गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस