नेपाली सेयर बजारमा अघिल्लो साता देखिएको निराशाजनक अवस्थालाई चिर्दै यस साता बजारले पुनः लय समात्न थालेको छ । नयाँ सरकार गठन लगत्तै लगानीकर्तामा देखिएको “पर्ख र हेर“ को स्थिति र लगातार दुई दिनको ‘सेन्चुरी गिरावट’ पछि बजारमा ठूलो अन्योल छाएको थियो ।
आइतबार १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा पुगेको सेयर बजार अर्थमन्त्रीको आश्वासन पछि सोमबार नै ८३.३३ अंकले बढेर २७६०.०२ अंकमा पुगेको थियो । त्यसको भोलिपल्ट मंगलबार सामान्य घटेको बजार त्यस पछिका दिनमा भने लगातार रुपमा बढेर कारोबार भइरहेको छ । बिहीबारको कारोबार बन्द हुन्दा परिसूचक २८५१.२४ विन्दुमा पुगेको थियो । गत साता उच्च गिरावट देखिएको बजारमा यो साता भने सुधार हुने दखिएको छ । अर्थमन्त्रीको सक्रियता र सेयर बजार सुधारका लागि आएका अभिव्यक्तिले लगानीकर्तामा नयाँ आत्मविश्वास जगाएको छ ।
अर्थमन्त्रीले पुँजी बजारका सरोकारवालाहरूसँगको पछिल्लो भेटघाटमा बजारलाई पारदर्शी र व्यवस्थित बनाउने दृढता व्यक्त गरेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो । विशेषगरी, सेयर बजारमा हुने लगानीमा ‘सम्पत्ति शुद्धीकरण’ सम्बन्धी प्रावधानले सिर्जना गरेको त्रासलाई सम्बोधन गर्दै, बजार आफैँमा पारदर्शी प्रणालीमा आधारित हुने भएकाले अनावश्यक झन्झट नहुने आश्वासन अर्थमन्त्रीले दिएका थिए । अर्थमन्त्रीले सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसलाई बलियो बनाउन सरकारले नीतिगत गाँठा फुकाउने बताएपछि यस साता नेप्सेमा दोहोरो अंकको सुधार देखिन थालेको छ ।
बजार विश्लेषकहरूका अनुसार, पछिल्लो समयको बढोत्तरी हुनुमा अर्थमन्त्रीको आश्वासन मात्र नभई बजार ‘करेक्सन’ को चरण पुरा गर्नु पनि एक मुख्य कारण हो । अघिल्लो साताको उच्च गिरावटपछि सस्तो मूल्यमा सेयर किन्ने अवसर पाएका लगानीकर्ताहरू पुनः सक्रिय भएका छन् । बजारमा तरलताको सहज उपलब्धता र ब्याजदरमा देखिएको गिरावटले पनि नेप्सेलाई माथि जान मद्दत पु¥याएको छ । अर्थमन्त्रीको सकारात्मक हस्तक्षेप र नीतिगत स्पष्टता कायम रहेमा नेप्सेले आगामी दिनमा नयाँ उचाइ तय गर्ने अपेक्षा लगानीकर्ताहरूले गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस