Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा मन्त्रीहरूको लगाव : कुन मन्त्रीको लगानी कति ?

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, १६ : ३४ मा प्रकाशित

सेयर बजारमा मन्त्रीहरूको लगाव : कुन मन्त्रीको लगानी कति ?

आइतबार सरकारका मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे । प्रधानमन्त्री बालेन साह सहित सबै मन्त्रीहरुले सार्वजनिक गरेको विवरणमा सेयरमा गरिएको लगानी पनि उल्लेख्य देखिएको हो । 

जेनजी आन्दोलपछि बनेको सरकारका मन्त्रीहरुको विभिन्न कम्पनीहरुको सेयरमा लगानी भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । सरकारको ढुकुटी हेर्ने अर्थमन्त्रीदेखि कृषिमन्त्रीसम्मले सेयर बजारमा करोडौँ लगानी गरेको विवरण आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उक्त विवरण अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विभिन्न कम्पनीमा करोडौँ रुपैयाँ सेयर लगानी रहेको देखिन्छ । उनको विभिन्न ५ कम्पनीमा सेयर रहेको विवरणमा उल्लेख छ ।

अर्थमन्त्री वाग्लेको सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकको प्रमोटर सेयर २५ हजार ७६२ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख रुपैयाँ, ठुलो खोला जलविद्युतमा ६० लाख र अपर मादी जलविद्युत कम्पनीको ३ करोड रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । अर्थमन्त्री वाग्लेले उक्त सेयर अन्तर्राष्ट्रिय रोजगारी र निजी निवास बिक्री गरेर खरिद गरेको जनाएका छन् । यसबाहेक उनले २०८२ सम्ममा अन्य हाइड्रोको सेयर बिक्री गरी लगानी गर्ने शर्तमा सेयर प्राप्त गरेको विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै शक्तिशाली सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको पनि विभिन्न कम्पनी र बैंकहरूमा लगानी रहेको पाइएको छ । उनको पिक एण्ड ड्रपमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा १०० प्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत सेयर स्वामित्व रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । यसका साथै बीपीडब्लु माइक्रोफाइनान्समा २ हजार ५६० कित्ता, ओम मेघाश्री फर्मास्युटिकल्समा ५ हजार कित्ता, ग्लोबल आइएमई र नबिल बैंकको १५९ कित्ता र अन्यमा १७३ कित्ता सेयर रहेको छ ।

मन्त्री खनालको परिवारका सदस्यहरूको नाममा पनि ठुलो मात्रामा सेयर देखिएको छ । शिशिर खनालकी श्रीमती अच्युता अधिकारीको नाममा १५ कम्पनीको सेयर रहेको विवरणमा उल्लेख छ । अच्युताको नाममा चन्द्रागिरी हिल्सको ३० कित्ता, जोशी हाइड्रोपावरको २०० कित्ता, मुक्तिनाथ विकास बैंकको ११२ कित्ता, नेपाल बैंकको २०० कित्ता, नेशनल हाइड्रोपावरको १०० कित्ता, नबिल सिपको ४ हजार ६३३ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १०० कित्ता, नेपाल रिपब्लिक मिडियाको १२५ कित्ता, राधी हाइड्रोपावरको २४ कित्ता, समता लघुवित्तको २० कित्ता, सुपरमादी हाइड्रोपावरको १०० कित्ता, शिवश्री हाइड्रोपावरको १५० कित्ता, युनियन हाइड्रोपावरको २०० र उन्नती सहकार्य लघुवित्तको ७० कित्ता सेयर रहेको छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूमा कुल २० हजार ९७८ कित्ता सेयर रहेको छ । जसको वर्तमान मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर देखाइएको छ ।
गृहमन्त्री सुदन गुरुङसँग ३ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर रहेको छ । गुरुङको एडमेन्चर भिल्ला प्रालिको ७० हजार कित्ता, लगुन प्रिमियर अपाटैमेन्टसको ५७ हजार र होम होल्डिङ्गस प्रालिको ३० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । उक्त सेयर प्राप्तिको स्रोत उनले व्यवसाय पैतृक सम्पत्ति र लगानीबाट गरेको विवरणमा उल्लेख गरेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा १ लाख बराबरको सेयर लगानी रहेको छ । यस्तै, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहेताको विभिन्न कम्पनीमा २०० भन्दा बढी कित्ता सेयर रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको भगवती हाइड्रोपावरमा ६५२ कित्ता र एसएसआईएसमा १० हजार कित्ता सेयर लगानी रहेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको विभिन्न कम्पनीमा २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको विभिन्न कम्पनीको ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको सेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको