सेयर बजार एक वर्ष भित्र करिब साढे ६ प्रतिशतको वृद्धि भएर बन्द भएको छ । २०८२ सालभरमा सेयर बजार ६.४४ प्रतिशतले बढेको हो । २०८१ सालको अन्तिम कारोबार दिन २६६२.०८ अंकमा बन्द भएको सेयर बजार २०८२ सालको अन्तिम दिन २८३३.६ विन्दुमा पुगेर बन्द भएको हो ।
यो एक वर्षको अवधिमा सेयर बजार १७१ अंक अर्थात् ६.४४ प्रतिशत बढेको हो । यसअघि २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनेको थियो । सो रेकर्ड २०८२ सालमा पनि तोडिन सकेन । यो वर्ष साउन १३ गते नेप्से परिसूचक ३००२ अंकमा पुगेको थियो । त्यतिबेलै नेप्सेले पुरानो रेकर्ड तोड्ने चर्चा व्यापक चले पनि अन्ततः ३००२ नै वर्षभरिको उच्चतम अंक रह्यो । त्यसपछि ओरालो गति समातेको बजारलाई जेनजी विद्रोहले थप निराश बन्न पुग्यो ।
भदौ २३ र २४ गते मुलुकमा भएको जेनजी विद्रोहका बेला थुप्रै निजी तथा व्यावसायिक सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाट भएसँगै लगानीकर्ताको मनोबलमा ठूलो असर प¥यो । परिणामस्वरुप ओरालो गतिको बजार असोज ३० गते २४८७ अंकसम्म झर्यो, जुन अंक वर्षभरिकै न्यूनतम रह्यो । एक वर्षमा बजारको आकार ४ खर्ब ७ अर्बले बढेको छ । २०८१ सालको अन्तिम कारोबार दिन बजारको कुल पूँजीकरण (सूचीकृत सबै सेयरको मूल्य) ४४ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा २०८२ सालको अन्तिम कारोबार दिन ४८ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।
२०८२ सालको अन्तिम दिनमा उत्पादन तथा प्रशोधन समूहको सूचक हालसम्मकै उच्च ११६८९.८९ विन्दुमा पुगेको छ । यो २०८१ सालको अन्तिम कारोबार दिनको भन्दा ६६.६४ प्रतिशतले धेरै हो । यो समूहमा बर्ष दिनमा कुल १५ कम्पनी सूचीकृत रहेका छन् । समूहका कुल कम्पनीमा ३३ प्रतिशत कम्पनी २०८२ सालमा मात्रै थपिएका हुन् । सागर डिस्टिलरी, श्रीनगर एग्रिटेक, एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स तथा पाल्पा सिमेन्ट यस समूहमा यो वर्ष सूचीकृत भएका कम्पनी हुन् ।
त्यसैगरी एक वर्षको अवधिमा होटल तथा पर्यटन समूह २३.३६ प्रतिशत, हाइड्रोपावर समूह १७.८६ प्रतिशत, विकास बैंक समूह १०.९८ प्रतिशत र बैंकिङ समूह ८.४० प्रतिशतले बढेका छन् । लघुवित्त र म्युचुअल फन्ड समूहले पनि क्रमशः २.८६ प्रतिशत र १३.५० प्रतिशतको वृद्धि भएको छ । तर, सबै समूहहरु सकारात्मक रहेनन् । केही समूहहरुले भने गिरावट पनि देखिएको छ । यो एक वर्षको अवधिमा अन्य समूह १२.५१ प्रतिशतले घट्दा, निर्जीवन बीमा समूह ८.३८ प्रतिशत, फाइनान्स समूह १.८६ प्रतिशत, ट्रेडिङ समूह १७.३८ प्रतिशत, जीवन बीमा समूह २.६५ प्रतिशत र लगानी समूह ३.९९ प्रतिशतले घटेको छ । वि.स २०८२ सालमा समग्रमा बजार साइडवेज अवस्थामा रह्यो । जहाँ नेप्से सूचक करिब २,४७० देखि ३,००० विन्दुको दायरामा घुमिरह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस