चालु आर्थिक वर्षको हालसम्म नेपाल धितोपत्र बोर्डले विभिन्न २४ वटा कम्पनीलाई आईपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म २४ कम्पनीलाई आईपीओ जारी गर्नका लागि अनुमति दिएको हो ।
चालु आर्थिक वर्षमा आईपीओ जारी गर्नका लागि अनुमति पाउने २४ कम्पनीमध्ये हाइड्रोपावर क्षेत्रका मात्रै १५ वटा कम्पनी रहेका छन् । त्यस्तै उत्पादन तथा प्रसोधान समूहका ७ वटा र एउटा विकास बैंक तथा एउटा होटल तथा पर्यटन समूहका कम्पनीले चालु आर्थिक वर्षमा आईपीओ ल्याउने अनुमति पाएका हुन् । आईपीओ जारी गर्नका लागि अनुमति पाएका कम्पनीमध्ये अधिकांशले निष्काशन प्रक्रिया पुरा गरिसकेका छन् । केही कम्पनी भने निष्कासनको क्रममा नै रहेका छन् । नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक वैशाख २ गते तीन वटा कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको थियो । त्यस पछिको समयमा भने कुनै पनि कम्पनीले आईपीओ जारी गर्नका लागि स्वीकृति पाएका छैनन् । अहिले बार्डमा आईपीओ जारी गर्ने अनमति माग्दै आवेदन दिनेको चाप बढीरहेको देखिन्छ ।
नेपाल धितोपत्र बार्डका अध्यक्षको राजीनामा पछि नयाँ अध्यक्ष चयन नभएको र कार्यवाहक अध्यक्षले पूर्णकालिन अध्यक्षलाई देखाएर आईपीओको स्वीकृति नगर्दा अहिले केही सुस्त भएको बोर्ड उच्च स्रोतले जनाएको छ । अहिले बोर्डमा आईपीओ स्वीकृतिको प्रतिक्षामा रहेका कम्पनीको संख्या ९९ पुगेको छ ।
६६ अर्ब बढीको सेयर पाइपलाइनमा
नेपाल धितोपत्र बोर्डमा अहिले ६६ अर्ब रुपैयाँ भन्दा बढीको सेयर पाइपलाइनमा रहेको छ । बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हालसम्ममा ६६ अर्ब २३ करोड ५५ लाख ४२ हजार ९६ रुपैयाँको सेयर पाइपलाइनमा रहेको छ । अहिले पाइपालाइनमा ४४ करोड २१ लाख ७२ जार १३२ कित्ता सेयर पाइपलाइनमा रहेको छ । पाइपलाइनमा रहेको सेयर मध्ये हाइड्रोपावर क्षेत्रको मात्रै ३२ वटा कम्पनीको १५ करोड १९ लाख २६ हजार २३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । यो सेयरको मूल्य १५ अर्ब ४५ करोड ७३ लाख ५५ हजार ४३६ रुपैयाँ हुन आउँछ । कम्पनीका हिसाबले हाइड्रोपावर क्षेत्रका कम्पनी धेरै भए पनि रकमका आधारमा भने उत्पादन तथा प्रशोधन समूहको सेयर मूल्य सबै भन्दा धेरै रहेको छ । उत्पादन तथा प्रसोधन समूहका २६ कम्पनीको ३४ अर्ब २३ करोड ५८ लाख ३५ हजार ५१० रुपैयाँ बराबरको १५ करोड ५२ लाख ६० हजार ५२२ कित्ता अहिले पनि बोर्डको स्वीकृतिको प्रतिक्षामा छन् ।
अन्य समूहको १४ कम्पनी
त्यस्तै अन्य समूहका १४ कम्पनीहरु पनि अहिले आईपीओ निष्कासनको स्वीकृतिको प्रतिक्षामा रहेका छन् । १४ कम्पनीको कुल ५ अर्ब ९० करोड ९९ लाख २० हजार ६५० रुपैयाँको ४ करोड ८६ लाख २१ हजार ६९ कित्ता पाइपलाइनमा रहेको छ । त्यस्तै इन्भेष्टमेन्ट क्षेत्रका ५ कम्पनीको २ करोड १४ लाख ३७५ कित्ता सेयरको ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार ५०० रुपैयाँ बराबरको सेयर पनि पाइपलाइनमा रहेको छ ।
धितोपत्रबोर्डको पाइपलाइनमा होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीको ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता र ३ वटा माइक्रो इन्स्योरेन्स कम्पनीको ६७ करोड ५० लाख रुपैयाँको ६७ लाख ५० कित्ता सेयर पाइपलाइनमा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस