नेपाल सरकारले सार्वजनिक संस्थानमा गरेको सेयर तथा ऋण लगानी निरन्तर बढ्दै ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । तर, यति ठूलो लगानीको प्रतिफलस्वरुप सरकारले प्राप्त गरेको लाभांश भने आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब ३७ करोड ७६ लाख रुपैयाँमा सीमित रहेको देखिएको छ ।
अर्थमन्त्रीले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म सार्वजनिक संस्थानमा कुल सेयर तथा ऋण लगानी ७ खर्ब ३ अर्ब ९३ करोड ८९ लाख रहेकोमा समीक्षा अवधिमा १३.४४ प्रतिशतले वृद्धि भएको हो । कुल लगानीमध्ये सेयरको हिस्सा ४६.३६ प्रतिशत र ऋण लगानीको हिस्सा ५३.६४ प्रतिशत रहेको छ । सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीमध्ये सबैभन्दा बढी हिस्सा नेपाल विद्युत प्राधिकरणमा केन्द्रित रहेको छ । कुल सेयर लगानीमध्ये नेपाल विद्युत प्राधिकरणमा ५०.१० प्रतिशत, नेपाल नागरिक उड्डयन प्राधिकरणमा १७.१० प्रतिशत तथा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा ४.४५ प्रतिशत लगानी रहेको छ । यी तीन संस्थानमा मात्रै कुल सेयर लगानीको ७१.६५ प्रतिशत हिस्सा रहेको छ ।
यी लगानी जलविद्युत आयोजना, प्रसारण लाइन निर्माण, विमानस्थल निर्माण तथा विस्तार र दूरसञ्चार क्षेत्रमा नवीनतम प्रविधि भित्र्याउने कार्यमा केन्द्रित रहेको उल्लेख गरिएको छ । क्षेत्रगत रुपमा हेर्दा सामाजिक क्षेत्रबाहेक अन्य क्षेत्रमा सरकारको सेयर तथा ऋण लगानी बढेको देखिएको छ । विगत पाँच वर्षको तथ्यांकअनुसार कुल लगानी, सेयर लगानी र ऋण लगानीको वार्षिक औसत वृद्धिदर क्रमशः ८.९ प्रतिशत, ४.१५ प्रतिशत र १४.११ प्रतिशत रहेको छ । यसले सेयर लगानीभन्दा ऋण लगानीको विस्तार तीव्र रहेको देखाउँछ ।
यता, सार्वजनिक संस्थानबाट प्राप्त हुने लाभांशमा भने स्थायित्व देखिएको छैन । आर्थिक वर्ष २०८०/८१ मा सरकारले ८ अर्ब ८३ करोड ५७ लाख लाभांश प्राप्त गरेकोमा आर्थिक वर्ष २०८१/८२ मा यस्तो रकम घटेर ८ अर्ब ३७ करोड ७६ लाखमा सीमित भएको छ । कुल सेयर लगानीको तुलनामा लाभांश अनुपात २.३ प्रतिशत रहेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जम्मा आठ वटा सार्वजनिक संस्थानबाट मात्रै लाभांश प्राप्त भएको छ । क्षेत्रगत रुपमा व्यापारिक, जनोपयोगी, सेवा तथा वित्तीय क्षेत्रबाट लाभांश प्राप्त भएको भए पनि औद्योगिक र सामाजिक क्षेत्रबाट भने कुनै लाभांश प्राप्त भएको छैन ।
कुल लाभांशमध्ये नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट मात्रै ५९ प्रतिशत लाभांश प्राप्त भएको छ । त्यसैगरी वित्तीय क्षेत्रका सार्वजनिक संस्थानबाट २४.२४ प्रतिशत तथा व्यापारिक क्षेत्रबाट १३.०६ प्रतिशत लाभांश प्राप्त भएको छ । विगत पाँच वर्षको प्रवृत्ति हेर्दा लाभांश प्राप्तिमा स्थायित्व नरहेको देखिएको छ ।
यसैबीच, सार्वजनिक संस्थानहरुको खुद नाफा भने बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४० अर्ब २४ करोड २८ लाख रुपैयाँ रहेको खुद नाफा समीक्षा अवधिमा बढेर ४५ अर्ब ८ करोड ४९ लाख पुगेको छ । वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २७ वटा संस्थान नाफामा सञ्चालनमा रहेका छन् ।
क्षेत्रगत रुपमा हेर्दा औद्योगिक क्षेत्रबाहेक अन्य अधिकांश क्षेत्रका संस्थान नाफामा रहेका छन् । औद्योगिक क्षेत्र भने विगत पाँच वर्षदेखि नै समग्र नोक्सानमा सञ्चालन हुँदै आएको देखिएको छ । सामाजिक र व्यापारिक क्षेत्रका संस्थानहरुको वित्तीय कार्यसम्पादन पनि स्थिर देखिएको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस