नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि आवेदन दिने प्रक्रिया सम्पन्न भएको छ । आवेदन दिने अन्तिम दिन कार्यालय समय सकिँदासम्म कुल ५० जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका छन् ।
जानकारीअनुसार आवेदन दिनेमा बीमा क्षेत्रका विज्ञ, प्राधिकरणकै कार्यरत कर्मचारी, नेपाल राष्ट्र बैंकका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीसँगै बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृतसमेत रहेका छन् ।
यसपटक सरकारले अध्यक्ष नियुक्तिको प्रक्रियामा केही फरक अभ्यास अपनाएको छ । अध्यक्ष पदका लागि नाम सिफारिस गर्न गठित समितिले जेठ १३ गते सार्वजनिक सूचना जारी गर्दै इच्छुक उम्मेदवारबाट आवेदन आह्वान गरेको थियो ।
अघिल्ला प्रक्रियामा अध्यक्ष पदका आकांक्षीले आवेदनसँगै व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने र छनोट सूचीमा परेकाहरूले त्यसको प्रस्तुतीकरणसमेत गर्नुपर्ने व्यवस्था थियो । तर यसपटक भने उम्मेदवारलाई व्यक्तिगत विवरण र स्वघोषणा फारम मात्रै पेश गर्न भनिएको छ ।
यसअघि धितोपत्र बजार नियामक निकायको अध्यक्ष छनोट प्रक्रियामा समेत यस्तै ढाँचा अपनाइएको थियो । यद्यपि, उक्त पदमा अहिलेसम्म नियुक्ति भने हुन सकेको छैन ।
सरकारले तत्कालीन अध्यक्ष शरद ओझालाई पदमुक्त गरेपछि नेपाल बीमा प्राधिकरणमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस