नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले अध्यक्ष नियुक्ति प्रक्रिया छिटो टुङ्गिनु पर्ने बताएको छ । बार्डको ३४ औँ बार्षिक वार्षिकोत्वको अवसरमा शुभकामना दिन जारी गरिएको विज्ञप्तिमा युनियनले अध्यक्ष नियुक्तिको प्रक्रिया अबिलम्ब टुङ्गोमा पुर्याउन आग्रह गरेको हो ।
‘नेपालको पुँजी बजारको सर्वोच्च नियामक निकाय, नेपाल धितोपत्र बोर्ड स्थापनाको ३३ वर्ष सफलतापूर्वक पूरा गरी ३४ औं वर्षमा प्रवेश गरेको यस ऐतिहासिक एवं सुखद उपलक्ष्यमा सम्पूर्ण सरोकारवाला, लगानीकर्ता तथा कर्मचारीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
देशको अर्थतन्त्रको मेरुदण्ड र ऐनाका रूपमा रहेको पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउने मुख्य जिम्मेवारी बोकेको नियामक निकायको भौतिक तथा व्यवस्थापकीय सुधारका लागि युनियनले हरबखत रचनात्मक सुझाव र दबाब दिँदै आएको विज्ञप्तिमा भनिएको छ ।
‘वर्तमान उच्च व्यवस्थापकीय नेतृत्व (संचालक बोर्ड सहित ) अनिर्णयको बन्दी बन्ने प्रवृत्तिका कारण संस्था दिन प्रतिदिन प्रशासनिक र व्यावसायिक रूपमा दिनानुदिन क्षयीकरण हुँदै गएको हामीले अनुभूत गरेका छौं । वार्षिकोत्सव केवल एक उत्सव मात्र नभई नियामक निकाय, सूचीकृत कम्पनी, बजार मध्यस्थकर्ता र आम लगानीकर्ता जस्ता बहुपक्षीय सरोकारवालाहरू भेला भई विगतको समीक्षा, वर्तमान चुनौतीको मूल्याङ्कन र आगामी रणनीतिक मार्गचित्र तय गर्ने एउटा महत्त्वपूर्ण मञ्च पनि हो । यस्तो वृहत् र गरिमामय सभालाई निषेध गरेर संस्था भित्रै ‘कर्पोरेट कल्चर’ र आन्तरिक सुशासन कायम गर्न नसक्ने नेतृत्वले समग्र पुँजी बजारमा कायापलट र संरचनात्मक सुधार गर्छु भन्नु केवल दिवास्वप्न मात्र हो,’ विज्ञप्तिमा भनिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस