Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको हरित ऊर्जा ऋणपत्रमा आवेदन दिने म्याद जेठ २५ गतेसम्म थप

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, ०८ : १७ मा प्रकाशित

निफ्राको हरित ऊर्जा ऋणपत्रमा आवेदन दिने म्याद जेठ २५ गतेसम्म थप

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको 'निफ्रा हरित ऊर्जा ऋणपत्र' मा आवेदन दिने म्याद थप गरिएको छ। मागअनुसार पर्याप्त आवेदन नपरेपछि निफ्राले ऋणपत्र निष्कासन अवधि जेठ २५ गतेसम्म लम्ब्याएको हो।

निफ्राले जेठ १८ गतेदेखि पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको थियो। प्रारम्भमा आवेदन दिने अन्तिम म्याद जेठ २१ गतेसम्म तोकिएको थियो। तर, भोटो जात्राका अवसरमा सार्वजनिक बिदा परेको कारण देखाउँदै आवेदन अवधि एक दिन थपेर जेठ २२ गतेसम्म बनाइएको थियो। यद्यपि सो अवधिमा पनि मागअनुसार आवेदन नपरेपछि अब उक्त म्याद जेठ २५ गतेसम्म बढाइएको हो।

ऋणपत्रको अंकित मूल्य प्रतिइकाइ एक हजार रुपैयाँ रहेको छ। निफ्राले कुल ५० लाख इकाइ ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये ३० लाख इकाइ निजी तवरबाट बिक्री हुनेछ भने बाँकी २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएका इकाइमध्ये एक लाख इकाइ सामूहिक लगानी कोषलाई वितरण गरिनेछ भने बाँकी १९ लाख इकाइमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेको शाखा कार्यालयमार्फत वा सीडीएससीको मेरो सेयर प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

निफ्राको यो ऋणपत्र सात वर्षे अवधिको हो। लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। यस ऋणपत्रको बिक्री व्यवस्थापक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको