अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएका वाणिज्य बैंकले आफ्नो सहायक कम्पनीमार्फत धितोपत्र कारोबार (खरीद विक्री) गर्ने गरी ब्रोकर अनुमतिपत्र पाउने भएका छन् । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले बिहीवार ‘नेपाल स्टक एक्सचेञ्ज लिमिटेड वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिका लागि सिफारिश कार्यविधि, २०७६’ बनाई लागू गरेको हो । यसले अब वाणिज्य बैंकलाई धितोपत्र कारोबार गर्न बाटो खुलेको छ ।
उक्त कार्यविधिसँगै अब धितोपत्र खरीदविक्री गर्ने उद्देश्यले केन्द्रीय बैंकबाट स्वीकृति पाएका वाणिज्य बैंकले नेपाल धितोपत्र बोर्डमा अनुमति लिन सक्ने नेप्सेले बताएको छ । नेपालको पूँजीबजारको विस्तार तथा लगानीकर्ताको पहुँचमा अभिवृद्धि गर्न उक्त कार्यविधि लागू गरिएको नेप्सेका उपप्रबन्धक प्रविन पन्दाकको भनाइ छ ।
शुरूमा वार्षिक साधारणसभामार्फत यस सम्बन्धी प्रबन्धपत्र र नियमावली संशोधन गरी नेपाल राष्ट्र बैंकमार्फत स्वीकृति लिएका बैंकहरूले ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दिन सक्नेछन् । नेप्सेका अनुसार हालसम्म राष्ट्र बैंकबाट पहिलो चरणको सैद्धान्तिक सहमति पाएका प्रभु, सानिमा र एनआईसी एशिया बैंकले ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दिइसकेका छन् ।
राष्ट्र बैंकको स्वीकृतिपछि सहायक कम्पनीको रूपमा एनआईसी एशिया बैंकले एनआईसी एशिया सेक्यूरिटिज, सानिमा बैंकले सानिमा सेक्यूरिटिज र प्रभु बैंकले प्रभु स्टक मार्केट दर्ता गरिसकेका छन् । सिटिजन्स बैंकले सीबीआईएल सेक्यूरिटिज सहायक कम्पनीको रूपमा दर्ता गरिसके पनि हालसम्म नेप्सेमा लाइसेन्स लिने प्रक्रिया अघि बढाएको छैन ।
नेपाल धितोपत्र बोर्डले साउन २ गते नेप्सेलाई तोकिएको मापदण्ड पूरा गरी वाणिज्य बैंकहरूलाई सहायक कम्पनीमार्फत शेयर खरीद विक्री गर्न पाउने गरी लाइसेन्सका लागि सिफारिश गर्न निर्देशन दिएको थियो ।
बोर्डको निर्देशनबमोजिम नेप्सेले संघीय संरचनाअनुसार विभिन्न प्रदेशमा आर्थिक रूपमा सक्रिय उपत्यका बाहेकका स्थानीय स्तरमा ब्रोकर कारोबारका लागि अनुमति प्रदानको सिफारिश गर्ने प्रक्रिया अघि बढाउन लागेको हो । यसका लागि नेप्सेले मापदण्ड पूरा गरेका अन्य बैंकहरूलाई समेत लाइसेन्सको निवेदनका लागि आह्वान गर्ने जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस