Like us!
Follow us!
Connect us!
Watch us!

काे हुन् थपिएका दुई नयाँ संक्रमित ?

निशा हुमाँगाई

शुक्रबार, २६ बैशाख २०७७, ११ : ५० मा प्रकाशित

काे हुन् थपिएका दुई नयाँ संक्रमित ?

अर्थ संसार काठमाडाैं - नेपालमा हिजाे बिहीबार थप दुई जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका निवासी १२ र २२ वर्षीय पुरुषहरुमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

उनीहरूलाई उपचारका लागि तौलिहवाबाट एम्बुलेन्समा कोरोना विशेष अस्पताल बुटवलमा पठाइएको छ । 

गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका ६५ जनाको स्वाब परीक्षण गर्दा बिहीबार दुई जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । भारतको महाराष्ट्रस्थित मुम्बईबाट आएका उनीहरु दुवै तीर्थादेवी छत्रपाली माध्यमिक विद्यालय पकडीमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए । मुम्बईबाट आउँदै गरेको जानकारी पाएपछि स्थानीयवासीले गाउँमा प्रवेश गर्न नदिने गरी बाटामै रोकेर क्वारेन्टाइनमा पठाएको वडा नं २ का वडाध्यक्ष सफरुद्दिन मुसलमानले जानकारी दिएका छन् ।

गाउँलेले मुम्बईबाट आउँदैछन् भनेर जानकारी दिएपछि नै आफूले उनीहरुलाई गाउँ पस्न रोक लगाएर राति १ बजेतिर क्वारेन्टाइनमा पुर्याएको वडाध्यक्ष मुसलमानले बताए । उनीहरुलाई राति बाटैमै खाना खान दिएर घर प्रवेश गर्न नदिई क्वारेन्टाइन पुर्याइएको थियो ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं २ अभिरावका संक्रमित दुवै दाजुभाइ रहेको गाउँपालिकाले जनाएको छ । अहिले दुवैलाई कोरोना विशेष अस्पतालमा पुर्याइएको छ । ती मजदूर सीमानाका चाकडचौडाबाट सुरक्षाकर्मीलाई छलेर नेपाल प्रवेश गरेका थिए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले क्वारेन्टाइनमा राखिएका अन्यको पनि परीक्षण हुने बताए । उनले उनीहरुको सम्पर्क ट्रेसिङ भइरहेको बताउँदै संक्रमित भएको पुष्टि भएपछि उनीहरु गाउँमा आउने क्रममा भेट भएकाहरुको खोजी शुरु गरिएको र गाउँ पूरै सुरक्षित रहेको भन्न नसकिने जनाए ।

इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीका अनुसार संक्रमित देखिएका दुई एकै घरका सदस्य हुन् । उनीहरुसहित पाँच जनाको परिवार सात दिनअघि लुकिछिपी अभिरावमा आएका थिए । उनीहरु गाउँमा अरुसँंग सम्पर्कमा आए आएनन् स्पष्ट बुझ्ने काम जारी रहेको प्रनि सुवेदीले बताए ।

दुवै संक्रमितलाई लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ल्याइएको र उनीहरुको अवस्था सामान्य नै रहेको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिएका छन् । ती संक्रमितको कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य अवस्थाको सबै परीक्षण गरेर आइसोलेशनमा भर्ना गरिनेसमेत उनले बताए ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै देखिए पनि उनीहरुमा क्वारेन्टाइनमा बस्दा एक सातादेखि कहिलेकाहीँ ज्वरो आउने गरेको देखिएको कोरोना अस्पतालका फोकल पर्सन लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिएका छन् । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको