Like us!
Follow us!
Connect us!
Watch us!

केपी ओली वर्तमान युगको कालिदास सावितः राजेन्द्र श्रेष्ठ

अर्थ संसार

विहीबार, १३ फागुन २०७७, १६ : ५२ मा प्रकाशित

केपी ओली वर्तमान युगको कालिदास सावितः राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् । उनले भने,‘उहाँ आफूले खनेको खाल्डोमा आँफै फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ । कालिदासले हाँगाँमा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ । अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्याष लिनुपर्ने अवस्था छ । अलिकति पनि ईज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनको गुनासो छ । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिएपनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?’–श्रेष्ठको प्रश्न छ । 

प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गर्दै भने,‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो । प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले अब कसरी अघि बढ्ने ? भन्ने सन्दर्भमा आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि सुनाए । 

कांग्रेस, नेकपा दाहाल–नेपाल समूह र जसपा तीन दलको संयुक्त रुपमा प्रधानमन्त्रीको उम्मेद्धवारको नाम अघि बढ्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने–‘तीन दल हुन्छ कि कांग्रेस र नेकपामात्रै हुन्छ ? यो टुँग्गिएको छैन् । नेकपाको आन्तरिक विभाजन जो छ, कानूनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाहीँ प्राकृतिक हुनुपर्छ । अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जानेखालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समिक्षा गरौं । नयाँ आधारहरु कसरी बन्छ ? अनि मात्रै तय हुन्छ ।’

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उक्त भेटमा दाहाल–नेपालले आजको नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि उनले सुनाए । 

श्रेष्ठले यसअघि नै संसदमा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव राखेको अवस्थामा कसरी अघि बढ्ने भन्नेबारे जिज्ञासा राखेको पनि सुनाए । जवाफमा दाहाल–नेपालले हिजोमात्रै नेपाली कांग्रेससँग वार्ता गरेको सुनाएका थिए । दाहाल–नेपालले भनेको कुरा सुनाउँदै उनले भने,‘हिजोको परिस्थितिमा समस्या टार्नको लागि, ओलीजीको कदम रोक्न त्यो कदम चाल्यौं । तर, उहाँहरुले संसद् विघटन गर्नुभयो । आजको नयाँ परिस्थितिमा तीन वटा पार्टी हामी, कांग्रेस र तपाईँहरु बसौं, जसको नाममा सहमति हुन्छ, त्यसलाई वैकल्पिक प्रधानमन्त्री सहित नयाँ प्रस्ताव  दर्ता गर्न सकिन्छ ।’ उनले अहिले नै को प्रधानमन्त्री बन्छ ? भनेर न्वारान गर्ने बेला भैनसकेको पनि टिप्पणी गरे । 

उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे । श्रेष्ठले भने,‘पहिला बच्चा जन्मनुपर्यो । अनिमात्रै न्वारान हुन्छ । कसको समिकरण बन्छ ? भन्ने कुरा बाहिर आउनुपर्छ । नेकपा राजनीतिक रुपमा विभाजन भएपनि कानूनी रुपमा विभाजन भएको छैन् । अहिले बहुमतको विपक्ष भैरहेको छ । यो अवस्था सिर्जना भैरहेको छ । कानूनी रुपमा पनि मान्यता प्राप्व्त हुनुपर्छ । औपचारिक रुपमा विभाजन भएपछि नै प्रक्रिया अघि बढ्छ । अहिले यो कुरा जगजाहेर छ । राजनीतकि रुपमा विभाजन भयो नेकपा । कानूनी रुपमा एउटै छ । विभाजनको प्रक्रिया पूरा भएको छैन् । अनिमात्रै थप छलफल हुन्छ ।’
 

दाहाल र नेपालसँगको आजको भेटवार्ताबारे श्रेष्ठले यसरी सुनाए

हिजो म र नेकपा दाहाल–नेपाल समूहका नेताहरुसँग कसरी जान सकिन्छ ? भन्ने विषयमा थोरै कुराकानी भएको थियो । र, आज चाहीँ औपचारिक रुपमा कुराकानी भएको छ । आज चाहीँ दुई पार्टीको बीचमा औपचारिक वार्ता भयो । वार्तामा नेकपाको तर्फबाट कमरेड प्रचण्ड, कमरेड माधव नेपाल दुवै अध्यक्ष हुनुहुन्थ्यो, हाम्रो तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र म गरी तीन जना थियौं । वार्तामा प्रचण्ड कमरेड र माधव कमरेड दुवैले आजको सन्दर्भमा हामीले चाहेपनि नचाहेपनि एउटा नयाँ ढंगले बढ्नुपर्ने आवश्यकत्ता यो देशले नै निर्माण गर्यो । नकारात्मक काम गरेर केपीले यो संसद विघटन गर्यो, त्यसको सकारात्मक परीणाम चाहीँ संसद पूनःस्थापना भएर सहकार्यको वातावरण बन्ने स्थिति आउँदैछ, हामीले सडकमा आ–आफ्नो ढंगले, आफ्ै पाराले, नेपाली कांग्रेसपनि सडकमा उत्रियो, यो प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदम हो भन्ने कुरामा कांग्रेस पनि निस्कियो । हामी पनि त्यसैगरि निस्कियौं । जनता समाजवादी पार्टीले पनि त्यही धारणा राखेर सडकमा आयो, यस हिसाबले तीनवटै पार्टी आफ्नो ठाउँबाट सडकमा उत्रियो, कार्यगत रुपमा हेर्दाखेरि एउटा मोर्चा नबनेपनि आफ्नो ठाउँबाट हामी एकै ठाउँमा पुग्यौं । त्यसकारण यो नकारात्मक प्रवृत्तिबाट हामी सकारात्मक ठाउँमा पुग्यौं भन्ने कुरा उहाँहरुले गर्दै अब नयाँ स्थितिमा हामीले पूनः संयुक्त भएर जाने वातावरण बनाउनुपर्यो । अविश्वासका प्रस्तावमा मिलेर जाऔं । संयुक्त रुपमा अविश्वासको प्रस्ताव राखौं । संवैधानिक व्यवस्थाअनुसार सहमतिको आधारमा नयाँ प्रधानमन्त्री चयन गरौं । सरकारमा पनि मिलेरै जाऔं । दुई वर्षभित्र देशका सबै समस्या हल गरेर जाऔं भन्ने प्रस्ताव राख्नुभयो । हिजोपनि मसँग त्यही प्रस्ताव राख्नुभएको थियो । 

र, हामीले त के भन्यौं भने–सहकार्यको प्रस्ताव आएको छ, यसको मोडालिटी प्रष्ट हुनुपर्छ । हिजोको आन्दोलनमा संविधान जारी बखतकै बेलामा ३० दलीय गठबन्धन थियो । आन्दोलनमा सहकार्य गर्दा, हिजोको जस्तो विश्वासको संकट हुनुहुँदैन भन्ने कुरा आयो । संविधान संशोधनको विषयमा हाम्रो मुद्दाहरु छन् । संविधानमा धेरैखाले त्रुटि छन् । हामीले संविधान संशोधनको कुरा पनि उठायौं । रेशम चौधरी, आन्दोलनको क्रममा उहाँमाथि झुठा आरोप लगाएको छ। सपथ गराउने अनि संसदमा हाजिर हुन नदिने काम भयो । सत्ता पक्षले द्धवेद्ध चरित्र देखायो । सहकार्य गर्न खुल्ला हृदय हुनुपर्यो । हामीले कुरा उठायौं । भविष्यको गन्तब्यको कुरा पनि गर्यौं । 

मुख्य कुरा के हो भने हिजोदेखि हामीले गर्दै आएका क्रियाकलापहरु, दलहरुको एजेण्डा छन् । सहकार्यका मोडालिटी कस्ता होलान् ? भन्नेमा ध्यान दिनुपर्छ । समिकरण प्राकृतिक हुनुपर्छ । असैद्धान्तिक र अप्राकृतिक गठबन्धन गर्यो भने आज फेरि सत्ताको लागि गठबन्धन हुन्छ । फेरि त्यो टुटछ । त्यसैले हाम्रो चाहीँ जोड के हो भने कुनैपनि गठबन्धन गर्दा प्राकृतिक हुनुपर्छ । संघीय लोकतान्त्रिक गठबन्धन स्विकार्य हुनुपर्यो । पहिचानसहितको संघीय शासनको कुरा गर्छौं । समानूपातिकक समावेशीमा केही केही बहस छन् । झुठा आरोपमा थुनिएका बन्दी रिहाई । समृद्धि र सुशासनमा लैजाने आधार हुनुपर्छ । ठोस आधार हुनुपर्छ । अनिमात्रै सहकार्यको सम्भावना हुन्छ । हामीले जवाफ मागेका छौं । प्रारम्भिक वार्ता भएको हो । कार्यकारिणी समितिको बैठकले जे निर्णय गर्छ त्यही हुन्छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको