Like us!
Follow us!
Connect us!
Watch us!

बैशाख भित्रै माथिल्लो तामाकोशिबाट ७६ मेगावाट बिजुली उत्पादन हुने, भदौ सम्ममा ४५६ मेगावाट

अर्थ संसार

आइतबार, ०५ बैशाख २०७८, १७ : ३२ मा प्रकाशित

बैशाख भित्रै माथिल्लो तामाकोशिबाट ७६ मेगावाट बिजुली उत्पादन हुने, भदौ सम्ममा ४५६ मेगावाट

दोलाखामा र्निमाण भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले वैशाखभित्रै विद्युत् उत्पादन शुरु गर्ने भएको छ । 

संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले वैशाख महिनाभित्रै पहिलो युनिटबाट विद्युत् उत्पादन शुरु हुने जानकारी गराएका हुन् ।

उनका अनुसार यहि महिना भित्रै ७६ मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम तीव्र पारिएको छ । उनले भने, ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ । वैशाखभित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

उनले बाँकी बिजुली जेठ, असार, साउन र भदौ महिनामा क्रमशः उत्पादन थप्दै लगिने बताए । आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले बताए । उनले भने, ‘हरेक महिना ७६ मेगावाट थप्दै भदौसम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत् सिस्टममा ल्याउँछौं ।’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन शुरु गर्ने रहे पनि वैैशाखको ३१ गते नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए । ‘वैशाख २० गते पहिलो मेसिन घुमाउँछौं । त्यसमा पनि सबै कुराले साथ दियो भने एक दुई दिन अगाडि आउन सक्छ तर अहिले २० गते भनेका छौं । त्यसपछि उत्पादन शुरु गर्ने त्यसको १३ देखि १४ दिन भनेको जेठ २ गते हो तर त्यसलाई पनि हामीले स्वीच गरेर वैशाख ३१ गते आशा गर्दैछौं’, उनले भने, ‘तर अहिलेको तालिकाअनुसार जेठ २ गते भनेका छौं । त्यस हिसाबले पहिलो युनिट आइसकेपछि असार मसान्तसम्म चारवटा युनिट आउँछ र साउन मसान्त सम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ ।’

आयोजनाको काममा ढिलाई भएको भन्ने गुनासो आएपछि आफू एक दुई दिनअघि मात्रै आयोजनास्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यहीं गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने पनि बताए । साउन मसान्त सम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत् उत्पादन शुरु भइसक्ने उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको