Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकः सबल नेतृत्व, सेयर मूल्य सधै उच्च, नाफामा १ नम्बर

कृष्ण भट्टराई

शनिबार, २९ जेठ २०७८, ०० : ०० मा प्रकाशित

नेपालको निजी क्षेत्रबाट स्थापित पहिलो बैंक हो नबिल बैंक । नेपालमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये यो आर्थिक बर्षको बैशाख मसान्तसम्ममा सबैभन्दा बढी मुनाफा कमाउन सफल भएको छ नबिलले । 

यो बैंकमा नेपालबाट फोर्ब्समा सुचिकृत अर्बपति बिनोद चौधरीको बहुमत सेयर स्वामित्व छ ।  नेपाल अरब बैङ्कको रूपमा स्थापना भएको नबिल बैङ्कमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व चौधरीको परिवारमा आएको हो । सन् १९८४ मा स्थापना भएको नबिल बैङ्कले प्रतिकित्ता ६० रुपैयाँको दरले सन् १९८७ मा निष्काशन सेयर निष्कासन गरेको थियो ।

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

हालै नबिलले युनाईटेड फाइनान्सलाई प्राप्ती गर्ने प्रक्रिया पनि अघि बढाएको छ । नबिलमा अन्य बिभिन्न बैंक तथा बित्तीय संस्थाहरु पनि मर्जर र एक्विजिसनको हल्ला चले पनि हालसम्म अरु कुनै संस्थासँग मर्जर र एक्विजिसनको प्रक्रिया अगाडि नबढाएको बैंकले जनाएको छ । 
नबिल बैंकलाई नेपालको एक सबल र बलियो बैंकका रुपमा हेरिँदै आएको छ । 

बैंकको वित्तीय अबस्था
बैंकको पछिल्लो वित्तीय अबस्थालाइ हेर्दा बैंकको चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसा रहेको छ । गत आर्थिक वर्षको चैत्त मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ७४ पैसा थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा  हासिल गरेको छ । यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

हालै नेपाल राष्ट्र बैंकले जारी गरेको वाणिज्य बैंकहरुको मुनाफा विवरण अनुसार अहिले बैंकको मुनाफा ४ अर्ब नाघेको छ । बैशाख मसान्तसम्मा बैंकको मुनाफा ४ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यो अनुपातलाई हेर्दा बैंकले यो आर्थिक बर्षको अन्तिम सम्ममा खुद मुनाफा ४ अर्ब ६४ करोड पुर्याउने प्रक्षेपण गर्न सकिन्छ । 

गत आर्थिक बर्षमा बैंकको रिजर्भको आकार १५ अर्ब ७० करोड रुपैयाँमा सीमित थियो । यो ९ महिनामा बैंकको रिजर्भको आकार करिब २ अर्बले बृद्धि भएर चैत्र मसान्तसम्ममा १७ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा ८१.४८ प्रतिशतले बढि हो । वितणयोग्य मुनाफामा बैंकले यो तेस्रो त्रैमासमा आएर छलाङ मारेको देखिन्छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा पनि बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड रुपैयाँमा मात्र सीमित थियो ।

यो अवधिमा बैंकले निस्कृय कर्जा पनि केहि घटाउन सफल भएको देखिन्छ । गत आर्थिक वर्षको असार मसान्त ०.६३ प्रतिशत रहेको निष्कृय कर्जा चैत मसान्तसम्म आइपुग्दा ०.४८ प्रतिशत पुगेको छ  । बैंकको आधार दर ७.८२ प्रतिशतबाट ६.१८ प्रतिशतमा र स्प्रेड दर ५.३४ प्रतिशतबाट ३.२० प्रतिशतमा झरेको छ ।

हाल बैंकले ७ वटै प्रदेशमा ११८ स्थानहरुमार्फत पूर्ण वाणिज्य बैंकिङ्ग सेवाहरु प्रदान गरिरहेको छ । यसका अतिरिक्त १५०० नबिल विप्रेषण एजेन्टहरुमार्फत देशभरि उपस्थित जनाएको छ ।

सेयर बजारमा नबिल बैंक  

बैंकका १३ करोड ४८ लाख १ हजार ५ सय ९० कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । बैंकको सेयर एक बर्षयता अधिकतम १ हजार ४ सय ८९ रूपैयाँ र न्युनतम ६ सय ५४ रूपैयाँमा कारोबार भएको छ । पछिल्लो १८० दिनको औषत मूल्य १ हजार २ सय ५१ रूपैयाँ रहेको छ । भोलुमको आधारमा हेर्दा पनि नबिल बैंक दैनिक राम्रो संख्यामा कारोबार हुने कम्पनीमा पर्दै आएको छ ।

बैंकको सेयर मूल्यलाइ एक छिन नियालौं । बैंकको १८० दिनको औषत मूल्यलाई आधार मानेर हेर्दा सेयर मूल्यमा धेरै उथल पुथल भएजस्तो देखिदैन । आजको कम्पनीको सेयरको बजार मूल्य अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ९पिइ रेसियो० ३५।७४ छ । यो भनेको कम्पनीमा लगानी गर्न केही जोखिम छ भन्ने हो । पिइ रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि उत्तम मानिन्छ । पिइ रेसियो २० सम्मलाइ जोखिम नभएको सेयर मानिन्छ । 

मूल्य आम्दानी अनुपातका आधारमा नबिलको सेयरमा लगानी गर्नु केही जोखिमपूर्ण जस्तो देखिए ता पनि कम्पनीको व्यवस्थापन, कम्पनीको वित्तीय अवस्था र बिगतको लाभांश इतिहास आधारलाई हेर्दा यसमा गरिने लगानीले लगानीकर्ताहरुलाई दीर्घकालिन रुपमा हानि नगर्ने देखिन्छ । 

लाभांशको इतिहास
 

कम्पनीको लाभांश इतिहास हेर्ने हो भने बैंकको लाभांशलाई उत्कृष्ट मान्न सकिन्छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई ३३.५० प्रतिशत बोनश सेयर र १.७६ नगद लाभांश वितरण गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५/७६ मा ३४ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसमा बोनस सेयरको हिस्सा १२ प्रतिशत थियो । बैंकले आर्थिक वर्ष २०७४/७५ मा १२ प्रतिशत बोनश शेयर, आर्थिक वर्ष २०७३/७४ मा ३० प्रतिशत बोनश शेयर, २०७२/७३ मा ३० प्रतिशत बोनस सेयर, २०७१/७२ मा ३० प्रतिशत बोनश सेयर, २०७०/७१ मा २० प्रतिशत बोनश सेयर, २०६९/७० मा २५ प्रतिशत बोनस सेयर र २०६८/६९ मा २० प्रतिशत बोनश सेयर वितरण गरेको थियो । 

९ बर्षअघि यो बैंकको १०० कित्ता सेयरमा लगानी गर्ने लगानीकर्ताको सेयर बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर ६ सय ६२ कित्ता पुगेको छ भने बैकले विभिन्न समयमा गरेको नगद लाभांशबाट पनि बैंकका लगानीकर्ताहरूले राम्रै आम्दानी गरिसकेका छन् ।

बैंकको ब्यवस्थापन 

कम्पनीको परफरमेन्स हेर्न त्यसको ब्यवस्थापनलाइ हेर्नु पर्छ । नबिल बैंकको ब्यवस्थापनलाइ हेरौं । नबिल नेपालको सबैभन्दा पहिलो निजिक्षेत्रको बैंक हो । 

यो बैंकमा हाल नेपालका एकमात्र बिलेनियर बिनोद चौधरीको परिवारको बहुमत स्वामित्व रहेको छ । नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रुपमा नबिल बैंकलाई लिने गरिन्छ ।  

हाल बैंकको अध्यक्षमा उपेन्द्रप्रसाद पौड्याल हेका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमविए गरेका पौडेलले सन् १९८६ देखि २००० सम्म स्ट्यान्डर्ड चार्टर्ड बैंक (नेपाल) मा काम गरे । उनले अप्रिल २००० देखि मार्च २०१७ सम्म एनएमबि बैंकको कार्यकारी प्रमुखको भूमिका निर्वाह गरे  ।  उनी बैंकिङ्ग तथा परियोजना लगानी र अन्तर्राष्ट्रिय बैंकिङ्गका सबै पक्षहरुको बृहत ज्ञान भएका बैंकर मानिन्छन् । उनी जनवरी २०१४ देखि नोभेम्बर २०१६ सम्म नेपाल बैंकर्स एशोसिएशनको अध्यक्षसमेत थिए ।

हाल बैंकको सञ्चालक समितीको उपाध्यक्षमा निर्वाण कुमार चौधरी रहेका छन् । उनी बिनोद चौधरीका छोरा हुन् । हाल ब्रैंकको अन्य सञ्चालकहरुमा मलय मुखर्जी,उदय कृष्ण उपाध्याय, प्रवीण तिब्रवेला, अनन्त पौड्याल र आशा राणा अधिकारी रहेका छन् । 

हाल नबिल बैंकको व्यवस्थापकीय नेतृत्व (सिईओ) मा नेपालका सेलिब्रेटी बैंकर अनिलकेशरी शाह रहेका छन् । उनी आफ्नो व्यवस्थापकीय क्षमताका साथ साथै आफ्नो ग्ल्यामरका कारण सधैं चर्चामा रहन्छन् । सम्भवत नेपालका बैंकहरुका सबैभन्दा बढी चिनिने सिईओ नै शाह हुन् । 
शाहले दिल्ली युनिभर्सिटीबाट ’फाइनान्स एण्ड मार्केटिङ’मा एमबीए र वासिङ्टन युनिभर्सिटीबाट ’इन्टरनेसनल विजनेस फाइनान्स’मा बीबीए गरेका छन् । 

स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका शाहले गरेका सो बैंकमा १३ वर्ष, नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा ५ वर्ष र मेगा बैंक नेपालको स्थापना कालदेखी नै प्रमुख कार्यकारी अधिकृतको रुपमा रही दुई कार्यकाल अर्थात ८ वर्ष काम गरेका थिए ।  शाह २०७५ साल असार बाट ४ बर्षका लागि नबिल बैंकको सिईओमा नियुक्त भएका हुन् । 

बैंकको समग्र अबस्था हेर्दा  यसमा गरिने लगानी दीर्घकालीन रूपमा निकै फाइदाजनक देखिन्छ । बैंकको बजार मूल्य बढेर हुने मुनाफा त छँदैछ, यसले हरेक बर्ष दिने लाभांशसमेत अत्यन्तै आकर्षक रहेको  छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म प्रतिसेयर आम्दानी ३६ रूपैयाँभन्दा बढी छ । लामो सयमदेखि नबिल बैंकको सेयर नेपालकै बैंक तथा बित्तिय संस्थाहरुको सबैभन्दा बढी मूल्यको सेयर रहदै आएको थियो । तर बुधबार भने गार्खाज फाइनान्सको सेयर मूल्यले यसलाई पछाडि पारेको थियो । सेयरमा दिर्घकालिन लगानी गर्ने लगानीकर्ताहरुका लागि भने यो कम्पनीलाई लगानीका हिसाबले हिरा नै मान्न सकिन्छ । 

नोटः हामिले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वन नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको